१७ बैशाख २०८१, सोमबार

आजदेखि काठमाडौंका होर्डिङ बोर्ड हटाइदै

प्रकाशित मिति :  27 December, 2019 7:06 am


काठमाडौं, ११ पुस

सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ ।

अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठकले निर्णय गरेको छ । यसैगरी, बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ ।

गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताउनुभयो । सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !