१ बैशाख २०७८, बुधबार

राजदूत डेप्रेज र परिसंघ पदाधिकारीबीच द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनमा छलफल

प्रकाशित मिति :  २५ चैत्र २०७७, बुधबार १९:१२


काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताएका छन् ।

यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी” अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई बताए ।

अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडी बढाइएका कार्यक्रम र परियोजनाहरुको बारेमा जानकारी गराउँदै आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताए । उनले हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिवन्ध हटाउनु पर्ने धारणा राखे ।

अध्यक्ष मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु¥याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरे ।

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भएकोले युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्ने तर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताए ।

उनले नेपाल र युरोपियन युनियनको सम्बन्ध माथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सिमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चकोरुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गरे । त्यसैगरी युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सिप विकासको लागि सहयोग गर्न अनुरोध गरे ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सिप विकास गर्नको लागि नीजि क्षेत्रको सहभागितामा श्रमबजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडी बढाई रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !