१५ बैशाख २०८१, शनिबार

आइसोलेशनबाट सूर्य थापाको टिप्पणी, ‘ठोस परिचयविहीन जेसुकैवाद नै सुकुलगुण्डा प्रवृत्ति हो’

प्रकाशित मिति :  12 May, 2021 1:48 pm


प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि नयाँ प्रधानमन्त्री को हुने भन्ने बहस चलिरहेको छ । विभिन्न दल, पार्टी, संघसंगठन र जनताबाट विभिन्न प्रतिक्रिया आइरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने वैठकअघि नै कोरोना संक्रमणका कारण आइसोलेशनका बसेर उपचार गरिरहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासमेत निरन्तर राजनीतिक टिकाटिप्पणीमा लागिरहेका छन् । उनले सामाजिक संजालबाट सार्वजनिक गरेको कवितात्मक शैलीको टिप्पणी यस्तो छः

सामन्तको आफ्नै रवाफ परिचय हुन्छ,
जालीझेली र चोरको झन् आफ्नै चिनारी बनेको हुन्छ,
दलालले दलाली गर्छ, अरू केही गर्दैन,
कम्युनिष्टले अरू कसैको सेवा गर्दैन, आफ्नो वर्गको सेवा गर्छ,
सच्चा काँग्रेसले ज्यान जाला अरूलाई नेता मान्दैन र
चुनावमा रूखबाहेक अन्यत्र भोट हाल्दैन,
छोरी जिताउन गोलाकारमा भोट त हाल्नै मान्दैन,
कोही सिल्पट स्वतन्त्रलाई उमेद्वार स्वीकारेर
रूख चिन्ह नै छाडेर मोलमोलाइ गर्न तयार हुन्न,
माओवादी केन्द्रले गोलाकार छाडेर
स्वतन्त्र उम्मेदवारको अवसरवाद स्वीकार्दैन,
रूख र गोलाकार चिन्हबेगर चुनाव
आत्मसमर्पण र जनताप्रति विश्वासघात हो
गिलास चिन्हबाट चुनाव जितेको कसैले
काङ्ग्रेसको वैशाखी बन्दै ह्वीप जारी गर्दैन,
पार्टीको चिन्ह लिएर जितेको सांसद
आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा
समूह बनाईबनाई मतदानमा अनुपस्थित हुँदैन,
रातदिन विभाजनकारी कृत्यको योजना बनाउन सक्रिय
मान्छेले कदापि एकताको नक्कली अभिनय गर्न सक्दैन,
भोट माग्न र जित्न कम्युनिष्ट भई टोपल्छ,
कम्युनिष्टले नेतृत्व गरेका सरकार ढाल्न
सारा अनैतिक गठबन्धन र घेराबन्दी गर्दै हिड्छ,
जनतन हसाउँछ मतदाता रूवाउँछ,
खासमा जो जे हो त्यस्तो केही गर्दैन,
कोइलीको भ्रम दिदैं कागजस्तो कराउँदै हिड्छ,
पञ्चको जतिसमेत इमान राख्दैन,
विदेशीको आदेश तामेल गर्छ,
जीवनभरि कम्युनिस्ट र
काङ्ग्रेसको भ्रम निरन्तर दिन्छ,
तर काङ्ग्रेस भन्छ काङ्ग्रेसको जस्तो काम गर्दैन
कम्युनिस्ट भन्छ, काङ्ग्रेसको भरिया–भरोसा पो बन्दै हिड्छ,
उल्टै सिद्धान्त, लोकतन्त्र, इमान र निष्ठाको डिङ् हाँक्छ,
देश कोरोना महामारीले आक्रान्त छ,
प्रधानमन्त्री फाल्ने समीकरणको रमिता जारी छ,
जो सरकारलाई काम गर्न असयोग गर्छ,
उही निर्लज्जताको सीमा नाघे भन्छ–
सरकार कोरोना नियन्त्रण गर्न असफल छ !
महामारीको बिषमता छ,
सामान्य स्थितिजस्तो सहजताको माग गर्छ,
महामारीमा ज्यान र अनिकालमा बीऊ जोगाउन
लाग्नुपर्ने खाँचो बिर्सन्छ र
अरूलाई दोष थोपरेर
पानीमाथिको ओभानोजस्तो बन्न खोज्छ,
जिउँदो मान्छेलाई श्रद्धाञ्जली लेखाउँछ,
आफूलाई युगपुरूष, राष्ट्रनायक भनाउँछ,
देशमा सर्वत्र सिद्धान्तहीन, स्वार्थी र
विपरित मति हावी छ,
कोही व्यक्ति विशेषलक्षित होइन,
ठोस परिचयबिहीन जेसुकैवाद नै
सुकुलगुण्डा प्रवृत्ति हो !
सुकुलगुण्डा प्रवृत्ति – मुर्दावाद !

– सूर्य थापा
एकान्तबास (आइसोलेसन कक्ष)
२९ वैशाख २०७८



प्रतिक्रिया दिनुहोस !