५ जेष्ठ २०८१, शनिबार

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अक्सिजन सिलिन्डर अस्पतालमा होल्ड नगर्नु, तत्कालै उद्योगमा पठाउनुु’

प्रकाशित मिति :  26 May, 2021 1:11 pm


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीको उपचारका लागि प्रयोग हुने सिलिन्डर होल्ड गरेर नराख्न सार्वजनिक अपिल गरेको छ । अस्पतालहरुमै पनि खाली सिलिन्डर समयमै उद्योगमा नपुर्याएको भन्दै त्यसो नगर्न भनेको हो ।

“केही दिनदेखि अस्पतालहरुमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नका लागि फिर्ता नपुग्ने समस्या बढ्दै गएको पाइएको छ,” बुधबार मन्त्रालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेकाले यसले आगामी दिनमा समस्या निम्त्याउने सक्नेतर्फ मन्त्रालयले सजक बनाएको छ ।

“विभिन्न व्यक्तिहरु तथा संघसंस्थाहरुले व्यक्तिगत, आईसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जुन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु हुन् तिनै अ उत्पादक कम्पनी तथा अस्पतालहरुमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउने कार्य गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन सिलिण्डरहरु थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैलाई संवेदनशील हुन मन्त्रालयले आग्रह गरेको हो ।

“संक्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधिय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने गराउने कार्यलाई बन्द गर्न गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गर्दछ,” विज्ञप्तिमा सचेत बनाइएको छ ।

अक्सिजनको महत्व बढेपछि यसअघि स्थानीय प्रशासनको सक्रियतामा खाली सिलिन्डरहरु संकलन गरेर सम्बन्धित उद्योग वा अस्पताललाई बुझाइएको छ । अस्पतालमै होल्ड हुन थालेपछि मन्त्रालयले सरोकारवालाको ध्यानाकर्षण गराएको हो । मन्त्रालयले कोभिडसँग सम्बन्धित कार्यमा ् समन्वय र सहजीकरणको व्यवस्थापन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !