२२ भाद्र २०८१, शनिबार

अमेरिका र इरानबीच देखिएको तनावबारे नेपाल सरकारको धारणा सार्वजनिक

प्रकाशित मिति :  9 January, 2020 4:26 pm


काठमाडौं, २४ पुस । पश्चिम एसियामा जारी तनावप्रति चासो व्यक्त गर्दै नेपालले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो क्षेत्रको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान गरेको हो।

‘पश्चिम एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर चासोका साथ नियालिरहेको छ। सो क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन्, तिनको सुरक्षा नेपालको सर्वोच्च प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सो क्षेत्रको शान्ति र स्थायित्वमा आँच पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन हामी सम्बन्धित पक्षसँग आह्वान गर्छौँ।’

सबै विवाद शान्तिपूर्ण तरिकाले समाधान हुनुपर्ने नेपालको सैद्धान्तिक अडान रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

अमेरिकाले गत साता इरानका जनरल कासिम सुलेमानीको इराकमा ड्रोन आक्रमण गरेपछि इरान र अमेरिकाका कारण यो क्षेत्रमा तनाव बढेको छ।

सुलेमानी हत्याको विरोधमा बुधबार बिहानै इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा २२ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। सो आक्रमणमा कुनै मानवीय क्षति नभएको अमेरिकाले बताएको छ।



प्रतिक्रिया दिनुहोस !