१६ बैशाख २०८१, आइतबार

बागमतीका १७८ दूग्ध सहकारीआवद्ध किसानलाई प्रतिलिटर दुई रूपैयाँ अनुदान (सूचीसहित)

प्रकाशित मिति :  7 June, 2021 12:44 pm


अनिल सापकाेटा-

काठमाडौं। बाग्मती प्रदेशका दूध उत्पादक किसानलाई प्रतिलिटर दुई रूपैयाँका दरले उत्पादनमा आधारित अनुदान उपलब्ध गराइने भएकाे छ ।

बागमती प्रदेश  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतकाे पशुपंछी तथा मत्स्य विकास मत्स्य विकास निर्देशनालयले चालू आर्थिक वर्षमा अनुदानका लागि छनाेटमा परेका १७८ दुग्ध सहकारीकाे नाम सार्वजनिक गरेकाे हाे ।

निर्देशनालयले गत जेठ १८ गते सार्वजनिक गरेकाे सूची अनुसारका सहकारी संस्थालाई अनुदान लिनका लागि सम्झाैता गर्न जिल्ला अनुसार समय तालिका ताेकेर बाेलाएकाे छ । छनाेटमा परेका सहकारीले यही जेठ २७ देखि असार १ गतेसम्म सम्झाैता गरिसक्नु पर्नेछ ।

चालू आर्थिक वर्षको अनुदानका लागि २०७७ माघ ९ गते सुचना जारी गरिएकोमा प्रदेशका १३ जिल्लामध्ये केहीबाट निवेदन नै नपरेको र केही जिल्लाका सहकारीको मापदण्ड नपुग्दा ८ जिल्लाबाट मात्र सहकारी  छनाेटमा परेकाे निर्देशनालयका निमित्त निर्देशक डा. राम प्रकाश प्रधानले बताए ।

मापदण्ड पुरा गरेका सहकारीमा चितवन जिल्लाबाट ७६, मकवानपुरबाट ३७ वटा, काभ्रपलाञ्चोकबाट ३१, ललितपुरबाट २२, सिन्धुपाल्चोकबाट ३, धादिङबाट २,  सिन्धुलीबाट २, रामेछापबाट १ वटा गरी कुल १७८ सहकारीसम्वद्ध किसानले अनुदान पाउने छन्।

“चालू आर्थिक वर्षमा उत्पादनमा आधारित दूधमा अनुदान कार्यक्रममा लागि १६ करोड रुपैयाँ विनियोजन भएको थियो, सोही रकमबाट किसानले आफूले उत्पादन गरेकाे दुधको मात्राका आधारमा एकमुष्ट अनुदान रकम पाउनेछन्,” प्रधानले भने ।

आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रममा प्रदेशका धेरैभन्दा धेरै सहकारीलाई समावेश गराएर दुग्ध किसानलाई प्रत्यक्ष अनुदान बाड्ने प्रदेशको योजना रहकाे उनले बताए ।

उत्पादन लागत घटाउनका लागि दाना खपत कम गरी हरियो घाँस खपत बढाउन बिउका लागि आवश्यक कार्यक्रमहरु ल्याउन लागिएको प्रधानले बताए ।

सहकारीलाइ अनुदान लिन बाेलाइएकाे पत्र र सूचीका लागि यहाँ क्लीक गर्नुहाेस् । 



प्रतिक्रिया दिनुहोस !