२३ बैशाख २०८१, आइतबार

प्रहरीलाई गाली गरेपछि आस्था राउत विवादमा, डीआईजी भन्छन्–अनुहार हेरेर जाँच हुँदैन

प्रकाशित मिति :  16 January, 2020 3:33 pm


काठमाडौं, २ माघ । 

त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै गाली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् ।

राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप छ ।

भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप गाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् ।राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ ।

भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अनुसन्धान सुरु भएको बताए । उनले भने,‘‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आपत्तिजनक छन् । केहीदिनभित्रै घटनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।’’

यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए ।

डीआईजी पोखरेलले भने,‘‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी गम्भीर हुन्छौँ । प्रहरीले कमजोरी गरेको भए उजुरी गर्ने, कानुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’’

सामाजिक सञ्जालमा आस्थाको आलोचना भएपछि उनले फेसबुकमार्फत माफी मागेकी छन् । अहिले आस्थाको मोबाइल अफ छ । उनी सम्पर्कमा आएपछि घटनाबारे जानकारी लिनका लागि बोलाउने प्रहरी तयारी छ ।



प्रतिक्रिया दिनुहोस !