४ जेष्ठ २०८१, शुक्रबार

नेप्सेको ओरालो यात्रा जारी, कारोबार रकममा समेत घट्यो

प्रकाशित मिति :  24 June, 2021 3:44 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्से ओरालो लागेको छ । अघिल्लो हप्ता देखिनै ओरालो लागेको बजार बिहीबार पनि १६ अंकले ओरालो लागेको छ भने कारोबार रकममा पनि गिरावट आएको छ ।

गत मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामसहित विज्ञप्ति सार्वजनिक गरेको हुनाले सेयर बजारमा एक सातासम्म त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको लगानीकर्ताहरुले बताएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ५२५.६४ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन र जलविद्युतबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

त्यस्तै नेप्सेमा आज कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३७ करोड ७६ लाख २२ हजार ४ सय ७० रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन सबैभन्दा धेरै अपर तामाकोशी, समृद्धि फाइनान्स, रूरू जलविद्युतको सेयरमूल्य बढेको छ भने सबैभन्दा धेरै ङादी ग्रुप पावर, बरूण हाइड्रोपावरको सेयर मूल्य घटेको छ ।

कूल २१९ वटा कम्पनीको एक करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३३ करोड ६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !