१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभाको१८ सदस्य पदका लागि आज निर्वाचन

प्रकाशित मिति :  23 January, 2020 8:43 am


काठमाडौं,  ९ माघ । राष्ट्रियसभाको रिक्त हुन लागेको १८ सदस्य पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ।

१८ पदका लागि ४५ जना उम्मेदवार चुनावी मैदानमा छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । स्थानीय तहमा १५०६ तथा प्रदेशसभामा ५५० गरी कूल २०५६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा प्रदेश सभासदस्यको मतभार ४८ र स्थानीय तहको मतभार १८  छ।
आयोगले प्रदेश १ को निर्वाचनका लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान स्थल तोकेको छ। १ नम्बर प्रदेशमा प्रदेशसभा र स्थानीय तह गरी ३६७ मतदाता छन्।
प्रदेश २ को मतदान जनकपुर महानगरपालिकाको महेन्द्रनारायण निधि स्मृति भवनमा हुनेछ जहाँ ३७९ मतदाता रहेका छन्।

बागमती प्रदेशमा ३४८ जना मतदाता छन् र प्रदेशको मतदान ललितपुर महानगरपालिका ४ को भवनमा छ।

गण्डकी  प्रदेशमा २३० मतदाता छन्। यो प्रदेशको मतदान जिल्ला निर्वाचन कार्यालय कास्कीको भवनमा हुने निर्वाचन आयोगले जनाएको छ।

३०५ मतदाता रहेको प्रदेश ५ को मतदान घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा हुनेछ। १९८ मतदाता रहेको कर्णाली प्रदेशको मतदान सुर्खेतको जिल्ला निर्वाचन कार्यलयमा हुनेछ।

२२९ जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशको मतदान सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविको भवन हुने आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !