१३ बैशाख २०८१, बिहिबार

प्रधान सम्पादक बुढाथोकी विरुद्ध कोकाकोलाको माइन्युट,महासंघले भन्यो,‘यस्तो निर्णय गर्नेलाई कारबाही गर’

प्रकाशित मिति :  17 July, 2021 6:11 pm


काठमाडौं । लुम्बिनी सञ्चार डटकम तथा टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालले छानविन गर्न र तह लगाउन माइन्युट गराएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै भनेका छन्,“नेपाल पत्रकार महासंघका सदस्य तथा लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

सम्बन्धित समाचार


कोकाकोलाले मृतक मजदूरलाई क्षतिपूर्ति दिएन

कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित


 

बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै नदिई नेपाल बाहिरै किनबेच गरिएको सन्दर्भमा २०७७ मंसिरदेखि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको विषयमा लुम्बिनी सञ्चारडटकमले समाचार प्रकाशित गरेको थियो ।

फलोअपसहित समाचार लेखेपछि बोटलर्स नेपालको व्यवस्थापनले ट्रेड युनियनका प्रतिनिधिलाई धम्की दिई पत्रकार बुढाथोकीको नाम नै तोकेर बैठकमा तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराएको छ भने केही दिनयता नचिनेको नम्बरबाट फोन गरेर असुरक्षित हुने किसिमको धम्की दिने गरिएको छ ।

विगत केही दिनयता नचिनेका नम्बरहरूबाट मलाई कल गरी “तपाईंलाई चिनिसकेका छौं,”, “घर पत्ता लगाइसकेका छौं”, “व्हीलचेयरमा बसेर बहुराष्ट्रिय कम्पनीसँग पंगा लिने” भनेर धम्की दिने गरिएको छ ।

महासंघले विज्ञप्तिमा भनेको छ,“प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको काम हो । यस्ता हर्कतले पत्रकारको सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको महासंघको ठहर छ ।”

महासंघले बोटलर्स नेपाललाई कारबाही गर्न माग समेत गरेको छ । महासंघले भनेको छ,“महासंघ घटनाको छानबिन गरी पत्रकारलाई असुरक्षित बनाउने र पत्रकारविरुद्धमा यस्ता निर्णय र निर्देशन गर्ने बोटलर्स नेपालको व्यवस्थापनमाथि कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !