२ जेष्ठ २०७९, सोमबार

अध्यक्षबाट यतीदेखि एमसिसीसम्मकाे बचाउ

प्रकाशित मिति :  30 January, 2020 8:16 am


काठमाडौं,१६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा यति समूहलाई सरकारी जग्गा भाडामा दिनेदेखि अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयवस्तु उठाइएको छ। पार्टी एकता भएको २१ महिनापछि आयोजित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सरकारी नियुक्ति, सीमा विवाद र नेताहरुको सम्पत्ति छानबिनको विषयले पनि उत्तिकै स्थान पाएको छ।

राष्ट्रिय सभागृहमा आयोजित बैठकको उद्घाटन सत्रमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारले यती होल्डिङसलाई जग्गा भाडामा दिएको निर्णयको बचाउ गरे। त्यसक्रममा उनले आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयको बचाउमात्रै गरेनन् अघिल्लो सरकारले गरेका निर्णयको पनि प्रतिरक्षा गरे।

यती होल्डिङससँग आफ्नो कुनै मितेरी साइनो नभएको बताउँदै उनले विधिसंगत ढंगले जग्गा भाडामा दिइएको बताए। उनले विधिसंगत काम गर्दा पनि सरकारविरुद्ध प्रचार युद्ध छेडिएको आरोप लगाए। ‘१२ वर्ष अगाडिको कोङ्दे भन्ने रिसोर्ट रहेछ, त्यसलाई जोडेर ल्याइएको छ। शेरबहादुर देउवाजी प्रधानमन्त्री हुँदा सायद माओवादी पनि सरकारमा थियो कि ?’ ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालतिर फर्किदै भने, ‘शेरबहादुरजीको पालामा कालिमाटीको जमिन भाडामा दिएको भेटियो। प्रक्रिया पु¥याएरै भाडा दिइएको रहेछ।’ अघिल्लो सरकारले भाडामा दिएको विषयलाई पनि यही सरकारले भाडामा दिएको हो जसरी प्रचार युद्ध छेडिएको भन्दै प्रधानमन्त्री ओलीले गुनासो गरेका नागरिक दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !