१८ बैशाख २०८१, मंगलबार

कोरोना भाईरसबाट मूत्यु हुनेको संख्या ४२६ पुग्यो

प्रकाशित मिति :  4 February, 2020 11:35 am


काठमाडौ, २१ माघ ।

एजेन्सी- चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४ सय २६ पुगेको छ। भाइरसबाट सोमबार थप ६४ जनाको मृत्यु भएकाे चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

चीनबाहिर हङकङमा पनि भाइरसका कारण एकजनाको मृत्यु भएकाे छ। मंगलबार बिहान चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

चीनको हुबेइ प्रान्तको वुहानमा गत डिसेम्बरमा याे भाइरस देखा परेकाे हाे। कोरोना भाइरसबाट वुहानमा हालसम्म २० हजार ४ सय ७१ संक्रमित भएको बताइएकाे छ। त्यस्तै चीनबाहिर १ सय ५९ जना संक्रमित भएको पुष्टि भएको छ। यसैगरी ६ सय ३२ जना  ठीक भएका अधिकारीहरुले बताएका छन् ।

चीनले भाइरस नियन्त्रणका लागि दश दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न गरी सोमबारदेखि उपचार सुरु गरेको छ। त्यस्तै १ हजार  ६ सय शैय्याको अर्को अस्थायी अस्पताल निर्माणको काम पनि शुरू गर्ने जनाएको छ ।

कोरोना  भाइरसकाे प्रभाव २० भन्दा बढी देशहरुमा देखा परिसकेको  छ । विश्व स्वास्थ्य संगठनले विश्वस्वास्थ्य आपतकाल घोषणा गरेको छ।यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसको महामारी नियन्त्रणमा जिम्मेवारी ननिभाउनेलाई दण्डित गर्ने चेतावनी दिएका छन्। महामारीविरुद्धको सङ्घर्षको अग्रमोर्चामा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै उनले महामारी नियन्त्रणमा जिम्मेवारी ननिभाउनेलाई दण्डित गर्ने चेतावनी दिएका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको राजनीतिक ब्यूरो (पोलिटब्यूरो)ले सोमबार कोरोना भाइरसबारे छलफल गर्न बाेलाएकाे बैठक उनले यस्ताे बताएका हुन्। सम्बोधनमा सीले सुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महामारी रोकथाम र नियन्त्रणको नेतृत्व गरिरहेको बताए।

सीले रोकथाम प्रयासमा ‘औपचारिकताकै लागि औपचारिकता’को अभ्यासको विरोध गर्न निर्देशन दिए। उनले भने, ‘युनिफाइड कमाण्डलाई नमान्ने र आफ्नो जिम्मेबारी ननिभाउने दण्डित हुनेछन्।



प्रतिक्रिया दिनुहोस !