१९ मंसिर २०८२, शुक्रबार

एक अध्यादेशले एकै दिन दुई पार्टी दर्ताकाे बाटाे खाेल्दै

प्रकाशित मिति :  18 August, 2021 1:01 pm


काठमाडौ । सरकारले सिफारिस गरेको दल विभाजनसम्बन्धी अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हस्ताक्षर गरी पठाउने बित्तिकै निर्वाचन आयोगमा दुई पार्टी दर्ता हुने देखिएकाे छ ।

यसाे हुँदा अहिलेको सदनमा दुई नयाँ दलको ठाउँ सुरक्षित हुनेछ । जनता समाजवादी पार्टीका पद विहीन भएका नेता महन्थ ठाकुर र नेकपा एमालेका नेता माधवकुमार नेपवाल दुवैले पार्टी दर्ता गराउने सबै तयारी गरी प्रतिक्षा गरेका बसेकाे स्राेतकाे भनाइ छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि यी दुवै नेताले दल दर्ता गराउने तयारी पूरा गरेका हुन् ।

ठाकुर निकट एक नेताका अनुसार सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपतिद्वारा सो अध्यादेशमा हस्ताक्षर गरी पठाइए लगत्तै निर्वाचन दल दर्ता गरिनेछ ।

पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक राखिने र पहिलेको जस्तो अध्यक्षीय मण्डलमा नभइ एकल अध्यक्षी प्रणालीमा आधारित पार्टी दर्ता हुने पार्टी स्रोतको भनाइ छ ।

निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
अपेक्षित अन्तरिम आदेश जारी नभए पनि पार्टी विवाद अदालतमै रहेको अवस्थामा मन्त्रिपरिषद्ले ल्याएको अध्यादेशबाट ठाकुर पक्ष उत्साहित भएको छ ।

अर्कोतर्फ अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएपछि एमालेको असन्तुष्ट पक्ष माधव नेपाल समूहले नयाँ दल दर्ताको अन्तिम तयारीमा पूरा गरेको छ ।

राष्ट्रपतिले मंगलबारै अध्यादेश प्रमाणीकरण गरिदिएको भए यी दुवै पार्टी मंगलबार नै दर्ता भइसक्ने ती दुवै दलका नेताहरूले जनाएका छन् ।
माधव समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा (समाजवादी वा क्रान्तिकारी) राखेर पार्टी गठन गर्ने तयारीमा रहेको छ ।

दल विभाज गर्ने पहिलो अध्यादेशका बेला भएको विरोधका कारण राष्ट्रपति कार्यालयले अहिलेसम्म त्यसबारे कुनै निर्णय गर्न सकेको छैन् ।

अध्यादेश अनुमोदन भएर यी दुवै पार्टीको संख्या सँगै सदनमा ६ औपचारिक पार्टी पुग्नेछ । अहिले औपचारिकरूपमा ४ पार्टी नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता (समाजवादी) पार्टी छन् । टुक्रिएर बन्ने दुई पार्टीले ६ पार्टी हुनेछ ।

राष्ट्रपति कार्यालयले अध्यादेश प्रमाणिकरण गरिसकेकाे स्राेतले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !