२३ बैशाख २०८१, आइतबार

आजदेखि सामलिङ्ग पावर कम्पनीको आइपीओ खुल्यो

प्रकाशित मिति :  3 September, 2021 1:27 pm


सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (भदौ १८ गते, शुक्रबार) बाट आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । यसअघि साउन २२ गते, शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भनिएको साधारण सेयर (आईपीओ) कोरोना भाइरसको संक्रमणका कारण ईलाम जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको हुनाले स्थगित गरिएको थियो ।

कम्पनीलाई सेबोनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको छ ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।



प्रतिक्रिया दिनुहोस !