९ आश्विन २०७८, शनिबार

स्वास्थ्य आपत्काल सुरक्षा प्रणाली सबलीकरण डब्लुएचओको प्रमुख प्राथमिकता

प्रकाशित मिति :  २५ भाद्र २०७८, शुक्रबार १६:१६


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन र दक्षिणपूर्वी एसियाली क्षेत्रका सदस्य राष्ट्रहरूले स्वास्थ्य आपत्काल सुरक्षा प्रणाली सवबलीकरण बारे छलफल गरेका छन् ।

कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिरोध गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपत्कालका लागि तयारी गर्नका आवश्यक हुने स्वास्थ्य आपत्काल सुरक्षा प्रणाली थप सबलीकरण गर्ने विषयमा छलफल भएको हो ।

“कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । विश्वको कुनै पनि देश यस स्तरको आपत्कालको सामना गर्न पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,”

विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा भनिन् ।

आपत्कालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ । यस क्षेत्रका ६ वटा देशहरूलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामी पश्चात यस क्षेत्रले प्रतिरोध क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको डब्लुएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख ।
कोभिड–१९ महामारी सुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए । त्यसको उद्देश्य जोखिमको लेखाजोखा गर्ने कार्यलाई विस्तार गर्ने , लगानी अभिवृद्धि गर्ने र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आपत्कालीन तयारी क्षमतालाई थप बलियो बनाउने रहेको थियो । विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपत्काल तयारी तथा प्रतिरोधका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेको डब्लुएचओले जनाएको छ ।

“राष्ट्रहरूले संक्रमणको पैmलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् र साथै महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन् ।” क्षेत्रीय निर्देशकले भनिन् ।
साथै हाम्रा स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धहरूमा भएका गम्भीर कमीकमजोरी तथा भिन्नताहरूलाई सम्बोधन गर्न जरुरी रहेको आवश्यकता पनि उनले औंल्याएकी छिन् ।

सदस्य राष्ट्रहरूले आपत्कालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नता लगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।

हालको प्रतिरोध कार्यले गम्भीर स्वास्थ्य आपत्कालको तयारी गर्न र प्रतिरोध गर्न सर्वाधिक उच्चस्तरी राजनीतिक नेतृत्वको संलग्नता र कार्यान्वयनका लागि बहुक्षेत्रीय प्रबन्धहरू अत्यन्त महत्वपूर्ण हुने देखाएको छ । यस्ता प्रबन्धहरूले समयानुकुल, निर्णायक र बृहत् स्तरका कदमहरू चाल्न मद्दत गर्ने गर्छन् । यसअन्तर्गत सम्पूर्ण सरकारी संयन्त्र तथा सम्पूर्ण समाजद्वारा प्रतिरोध कार्य र वित्तीय स्रोतहरूको परिचालन गरिन्छ ।

यस किसिमका प्रबन्धहरूलाई निरन्तर रूपमा समीक्षा र सबलीकरण गर्नुपर्ने अवश्यकता छलफलमा औंल्याइएको छ ।

महामारीबाट सिकिएको अर्को महत्वपूर्ण पाठ भनेको राष्ट्रहरूले निगरानी तथा सम्पर्कमा आएका व्यक्तिको खोजी कार्यदेखि लिएर क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नता लगायतका प्रतिरोध कार्यका विभिन्न पक्षहरूको आकस्मिक रूपमा असामान्य स्तरमा क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पूरा गर्न पनि योजना बनाउन जरुरी रहेको देखिएको छ ।
विश्वव्यापी रूपमा जोखिमको मूल्याङ्कन गर्न र संयोजित, समयानुकुल र निर्णायक प्रतिरोध कार्यहरू गर्नका लागि समयमै सूचना तथा जानकारी दिने प्रभावकारी चेतावनी संयन्त्रकोे महत्व यो महामारी फेरि उजागर गरिदिएको छ ।

अन्य जनस्वास्थ्य तथा सामाजिक उपायहरूको प्रभावकारिता हालको महामारीले सिकाएको अर्को महत्वपूर्ण पाठ हो । यी उपायहरूले संक्रमण पैmलिनबाट रोक्न सक्छन् तर साथमा उल्लेखनीय आर्थिक सामाजिक परिणामहरू पनि निम्त्याउँछन् । तसर्थ, जनस्वास्थ्य तथा समाजिक उपायहरूलाई महामारीको वैज्ञानिक विश्लेषण तथा प्रतिरोध कार्य क्षमताको लेखाजोखा गरे अनुसार समयानुकूल परिमार्जन गरिनुपर्ने र कठोर उपायहरूलाई आवश्यकता परेका स्थानहरूमा र आवश्यक परेको समयमा मात्र प्रयोग गरिनुपर्ने डब्लुएचले जनाएको छ ।
मानिसहरूलाई रोकथाममूलक व्यवहार अपनाउन सुसूचित निर्णय गराउन, निगरानी, सम्पर्कमा आएका व्यक्तिको खोजीकार्य, क्वारेन्टिन तथा सही जानकारीको आदानप्रदानमा तथा सहयोग प्राप्त गर्नका उनीहरूको सहभागितालाई जोड दिनु महत्वपूर्ण हुने डब्लुएचओले जनाएको छ ।
डा. खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको बताइन् ।

“हालालको महामारीको प्रतिरोध कार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपत्काल तथा प्रकोपहरूका लागि अझ राम्रो तयारी गन स्वास्थ्य आपत्काल तयारी तथा प्रतिरोध कार्य क्षमता थप सबलीकरण गर्न आवश्यक पर्ने प्राथमिकता तथा कायहरूकोे पहिचान गर्न हामीले काम गरिराख्नुपर्छ,” क्षेत्रीय निर्देशकले भनिन ।



प्रतिक्रिया दिनुहोस !