२२ मंसिर २०८२, सोमबार

श्रीमती सुत्केरी भएकै दिन काठमाडौंबाट झापा सरुवा,सरुवाले नपुगेर स्पष्टीकरण

प्रकाशित मिति :  2 October, 2021 4:41 pm


काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड काठमाडौंमा योजना अधिकृत थिए, गौरब लुइँटेल । उनले काम गरेको झण्डै ५ वर्षदेखि उक्त शाखामा कार्यरत थिए ।

लुइँटेलले एकाएक बोर्डको प्रादेशिक कार्यालय,विर्तामोड झापामा निमित्त प्रमुखको हसियतमा सरुवा भएको पत्र प्राप्त गरे ।
प्राप्त गरेपछि उनी आश्चर्य भए किनभने प्रादेशिक कार्यालयको प्रमुखका लागि उनीभन्दा वरिष्ठ अधिकृतहरू पनि थिए । तर लुइटेलको भागमा आयो निमित्त प्रमुखको जिम्मेवारी ।

वरिष्ठहरू हुँदाहुँदै आफ्नो भागमा आइपरेको निमित्त प्रमुखको जिम्मेवारीप्रति लुइँटेललाई खुशी हुनु स्वभाविक पनि थियो । तर पत्र पाएपछि उनी स्तब्ध बने । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक पत्र नै लेखेर आफ्नो स्तब्धताबारे बोले ।

फेसबुकमा उनले लेखेका छन्,“श्रीमान्,म विगत ५ वर्षदेखि केन्द्रीय कार्यालय,काठमाण्डौमा कार्यरत रहेकाले मेरो सरूवा हुनु प्रशासनिक दृष्टिकोणबाट स्वभाविक नै होला । तर मेरो पारिवारिक बाध्यता र श्रीमती केहि हप्तामा नै सुत्केरी हुने अवस्थाबारे जानकार हुँदाहुँदै अप्रत्यासित रूपमा सरूवाबारे निर्णय हुनु चैँ मेरा लागि त्यति स्वभाविक रहेन । प्रशासन शाखाबाट मलाई सरूवाको पत्र थमौती हुँदा २०७२ सालको भुइँचालोले जस्तै मेरो मन मस्तिष्क एकपटक नराम्रोसँग हल्लायो ।”

साउन २९ गते बच्चा जन्मिएको खुशी फेसबुकमा सेयर गरेका छन् । श्रीमती सुत्केरी भएकै दिन अर्थात गत साउन २९ गते मै लुइटेललाई रमानापत्र थमाइएको थियो ।

रमाना पत्र बुझेपछि लुइँटेलले बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईलाई स्मरण गराएका छन्,“हो, सबै कर्मचारीका आ–आफ्नै बाध्यताहरू हुन्छन् । ती बाध्यताहरूको सामु कार्यालयले घुँडा टेक्नु हुँदैन । कार्यकारी निर्देशकको हैसियतले तपाईंले गर्नुभएको निर्णय सहि नै होला । तर तपाईँ पनि आमा, श्रीमती र बालबच्चाहरू सहित पारिवारिक बन्धनमा बाँधिएको एक प्राणी भएको हुनाले यस सरूवालाई केहि समयका लागि स्थगन गरी मानवीयता प्रदर्शन गर्नुहोला कि भन्ने आसा गर्नु मेरो अपराध थिएन होला ।”

श्रीमती सुत्केरीबारे लुइँटेलले कार्यकारी निर्देशक भट्टराईलाई जानकारी गराएका थिए । तर श्रीमती सुत्केरी हुने दिन र रमानापत्र बुझ्ने दिन सँगै परेपछि अधिकृत लुइटेलले सार्वजनिक रुपमै आक्रोश पोखेका हुन् ।

लामो पत्रको अन्त्यतिर लुँइटेलले लेखेका छन्,“श्रीमान्, पत्र लामै भयो जस्तो छ । बरबुझारथ गरेर कार्यालयबाट रमाना लिने चलन पुरानै हो । तर सरूवा हुने कर्मचारीले यसरी प्रतिवद्धता र अपेक्षा सहितका कुराहरूलाई पत्रमै लेखेर प्रमुखलाई बुझाउने चलन हाम्रोमा खासै नभए पनि यति लेख्ने ‘दुस्साहस’ गरियो । यो ‘गुस्ताख’का लागि स्पस्टिकरण वा कारबाही सहनुपरे पनि सहुँला ।”

नभन्दै लुइँटेलले सरुवा भएर मात्रै सुख पाएनन् । झापा पठाइएको एकमहिनापछि कार्यकारी निर्देशक भट्टराईले लुँइटेललाई भदौ ३१ गते  स्पष्टीकरण सोधेको बोर्ड प्रशासन स्रोतले जानकारी दियो । लुइटेलले भने यसबारे धेरै बोल्न चाहेनन् । उनले भने,“होइन म अलिकति मानवीय समस्यामा थिए र गुनासो फेसबुकमा लेखेको हो बाँकी आन्तरिक विषय हो खासै केही     होइन ।”

बोर्ड स्रोतका अनुसार कार्यकारी निर्देशक र लुइँटेलबीच विवाद थियो । विवादको कारण नखुलेपनि फेसबुक स्टाटसमा लुइँटेलले‘मैले सुरूमै केहि गुनासाहरू राखेको थिए, अब ती गुनासाहरूलाई यहिँ बिसर्जन गर्दछु र अब उपरान्त कहिँ कतै कसैसँग यी कुराहरूको उठान नगर्ने विश्वास समेत दिलाउन चाहन्छु’ भनेका छन् । तर यसबारे लुँइटेलले केही बोलेनन् ।



प्रतिक्रिया दिनुहोस !