८ जेष्ठ २०८१, मंगलबार

शक्तिशाली प्रतिरोध गर्ने विप्लव नेतृत्व नेकपाको चेतावनी

प्रकाशित मिति :  14 February, 2020 12:51 pm


काठमाडौं,  २ फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २५ औँ जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा अापत्ति जनाएको छ ।

गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने नेकपाले चेतावनी दिएको छ ।
पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी अोली–प्रचण्डको सामाजिक दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकारले फागुन १ गते महान् जनयुद्ध दिवसमाथि देशभर हस्तक्षेप तथा आक्रमण गरेर आफ्नो फासिवादी र पश्चगामी चरित्र उदाङ्गो पारेको छ । उसले जनयुद्धको स्मरणमा भएका जुलुस, प्रदर्शनमाथि देशभर अवरोध र आक्रमण गरेको छ ।’

विज्ञप्तिमा काठमाडौँको सुन्धाराबाट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, केन्द्रीय सदस्य उषाकिरणसहित ५ जना र नेकपा क्रान्तिकारी माओवादीका दोलखा जिल्ला इन्चार्ज गोविन्दसहित ३ जनालाई चरीकोटबाट गिरफ्तार गरेको उल्लेख छ ।

नेकपाले गणतन्त्रका लागि मुख्य भूमिका निर्वाह गर्ने पार्टीको आयोजनामा भएको जनयुद्ध दिवस कार्यक्रममाथिको यो आक्रमण सहिद परिवार, घाइते, बेपत्ता परिवार, जनयुद्ध र सबै अग्रगामी शक्तिमाथिको अपमान र ज्यादती भनेको छ । विज्ञप्तिको भनिएको छ, ‘सरकारको यस्तो फासिवादी हर्कत नरोकिए अझ ठूलो प्रतिरोध गर्न पार्टी बाध्य हुने चेतावनी पनि दिन चाहन्छ ।’



प्रतिक्रिया दिनुहोस !