२२ मंसिर २०८२, सोमबार
सहकारी ठगी प्रकरण

सिभिल बैंकका अध्यक्ष तामाङसहित १२ जना पक्राउ,रकम विदेश पठाएको आशंका

प्रकाशित मिति :  5 October, 2021 3:40 pm


काठमाडौं । सिभिल बैंकका अध्यक्ष, सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष एवं पूर्व सांसद इच्छाराम तामाङसहित १२ जना संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तामाङकै सिभिल होम्सका वरिष्ठ प्रबन्धक समेत रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनालाई पक्राउ गरेर ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगेपछि पनि खाताबाट रकम झिक्न पटक–पटक ताकेता गरेका थिए ।

तर तत्कालिन समयमा तामाङ अध्यक्ष रहेको सहकारीले रकम फिर्ता गर्न अनाकानी गरेको थियो । रकम फिर्ता नपाएपछि आफ्नो निक्षेप जोखिममा रहेको ठानेर सहकारीका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि पटक पटक ध्यानाकर्षण गराएका थिए ।

नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम सहकारीले उपलब्ध नगराएपछि १३७ जना सदस्यले उजुरी गरेका थिए । उजुरपछि प्रहरीले तामाङसहित सहकारीका अहिलेका अध्यक्ष र कर्मचारीलाई पक्राउ गरेको   हो ।

सहकारीमा रहेको सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै व्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरूमा लगानी गरेको खुलेको ब्युरोले जनाएको छ ।

उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी सहकारी जोखिममा परेको र सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरूबाट निर्माण गरिएका संरचनाहरू बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसुर गरेको हुनसक्ने सिआइबीको आँकलन छ ।

१३७ जना पीडित वचतकर्ताहरूले तामाङसहितका विरुद्ध उजुरी गरेका थिए । ब्युरोले भनेको छ,“ निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।”

ब्युरोले सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष,पूर्व सभासद एवं सिभिल बैंकका अध्यक्षसहित सहकारीका वर्तमान सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, जुनियर असिसनेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना रहेका छन् ।

त्यस्तै तामाङकै सिभल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, सहकारीका पूर्व लेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !