२२ मंसिर २०८२, सोमबार

३३ किलो सुन प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

प्रकाशित मिति :  5 October, 2021 5:58 pm


मोरङ । जिल्ला अदालत मोरङले सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोप लागेका चूुडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाएका हुन् भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।

गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ ।

अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताए । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उनले जानकारी दिए ।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस !