१ चैत्र २०८२, आइतबार

दशैंका लागि मासुको अधिकतम मूल्य निर्धारण

प्रकाशित मिति :  7 October, 2021 12:11 pm


काठमाडौं । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो ।

आन्द्राभुडी राखिएको खसीबोकाको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजे अनुसार)को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको हो ।

कुखुराको मासु प्रतिकिलो रु ३०० तथा रागाँ र बङ्गुरको मासु रु पाँचरपाँच सय तोकिएको छ । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए ।

“सङ्घबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ, तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए सङ्घबाट कारबाही हुन्छ’’, उनले भने।

अन्य समयको तुलनामा दशैँमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भए पनि खसी, बोका तथा राँगाको मूल्यमा दशैँको अवधिमा कुनै परिवर्तन हुने छैन ।

यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो । मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो ।

चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् । अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढ्ने बताए ।

चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् । सङ्घका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७०० देखि ८०० र मासु रु दुई हजारसम्ममा बिक्री भएकोेमा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै रु १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ ।

नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए । उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दशैँका लागि मासुको अभाव नहुने जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौँ उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !