२३ मंसिर २०८२, मंगलबार

बालबालिका र युवाहरूमा कोभिड-१९ को असर धेरै वर्षसम्म रहने छ : युनिसेफ

प्रकाशित मिति :  7 October, 2021 1:30 pm


काठमाडौं । बालबालिका र युवाहरूले आफ्नो मानसिक स्वास्थ्य र सुरक्षामा कोभिड-१९ को असर धेरै वर्षसम्म प्रभाव रहने युनिसेफले चेतावनी दिएको छ ।

२१औं शताब्दीमा बालबालिका,किशोरकिशोरी र हेरचाहकर्ताहरूको मानसिक स्वास्थ्यका बारेमा युनिसेफले अहिलेसम्म गरको सबैभन्दा व्यापक बिश्लेषण अनुसार कोभिड -१९ भन्दा पहिलेदेखि नै यो विषयलाई सम्बोधन गरेर खासै कुनै महत्वपूर्ण लगानी नभएको उल्लेख छ ।

जसका कारण बालबालिका र युवाहरूले मानसिक स्वास्थ्य सम्बन्धि अवस्थाको बोझ उठाउँदै आएको प्रतिवेदनमा छ । युनिसेफको पछिल्लो उपलब्ध अनुमान अनुसार, विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ किशोरकिशोरी मानसिक समस्याका साथ बाँचिरहेका छन् ।

शीर्ष पाँच कारणहरु मध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६,००० किशोरकिशोरीहरूको मृत्यु हुने युनिसेफको प्रतिवेदनमा उल्लेख छ । मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकताहरू र मानसिक स्वास्थ्य कोषबीच ठूलो अन्तर छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यको लागि खर्च भनेर छुट्याइएको छ।

“बितेका १८ महिना हामी सबै र विशेष गरेर बालबालिकाको लागि धेरै लामो समय भएको छ । राष्ट्रव्यापी बन्दाबन्दी र महामारीका कारण हिँड्डुलमा भएको प्रतिबन्धले गर्दा बालबालिकाले आफ्नो जीवनका केही महत्वपूर्ण वर्ष परिवार, साथीहरू, कक्षाकोठा र खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वहरूबाट टाढा रहेर बिताएका छन्,” युनिसेफका कार्यकारी निर्देशक हेनेरिट्टा फोरले भनेका छन् ।

महत्वपूर्ण आवश्यकताहरूलाई सम्बोधन गर्नको लागि सरकारहरूद्वारा थोरै लगानी भइरहेको उल्लेख गर्दै युनिसेफको प्रतिवेदनमा मानसिक स्वास्थ्य र भावी जीवन परिणामहरू बीचको सम्बन्धलाई पर्याप्त महत्व नदिइएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !