८ बैशाख २०८१, शनिबार

बागलुङ बजारमा कृषि हाट तथा थोक बजार सञ्चालन

प्रकाशित मिति :  10 October, 2021 12:52 pm


बागलुङ । बागलुङ बजारमा कृषि हाट तथा थोक बजार सञ्चालनमा आएको छ ।

किसान, व्यवसायी र सरोकारवाला संस्थाको आग्रहपछि बजार सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालनमा आएको ‘कृषि हाट तथा थोक बजार’को बागलुङ नगर प्रमुख जनकराज पौडेलले शुभारम्भ गरेका हुन् ।

कृषि ज्ञानकेन्द्र, नगरपालिका र उद्योग वाणिज्य सङ्घको समन्वयमा हाट तथा थोक बजार व्यवस्थापन समितिले बजार सञ्चालनमा ल्याएको हो ।

सो अवसरमा नगरप्रमुख पौडेलले “हिजो बजारबाट ल्याएर खाने अहिले गाउँकै अर्गानिक उत्पादन खान थालेका छन् । किसानले कर्मबाट चाहेको जति उपलब्धि हासिल गर्न सकेका छैनन् ।”

गुठीमा हरेक हप्ता शनिबार हाट बजार र अन्य दिन थोक बजार सञ्चालनमा आउने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए ।

समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्यसमेत तोक्नेछ । अहिलेसम्म बागलुङमा फलफूल तथा तरकारीको मूल्य बजारमा मोलमोलाइकै आधारमा निर्धारण हुने गरेको थियो । किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल तरकारी पाउने वातावरण बनाउनका लागि हाट तथा थोक बजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

“थोक बजारबाट अरु व्यापारीले पनि किनेर लैजान सक्नुहुन्छ, पाँच किलोभन्दा माथिलानेले थोक मूल्यमा फलफूल तरकारी पाउनुहुन्छ”, उनले भने , “बाहिरको तरकारी यहाँ ल्याउन पाइँदैन, बागलुङमै फलेको तरकारीले स्थान पाउनुपर्छ ।” सङ्घका अध्यक्ष युवराज राजभण्डारीले किसान आफैँले बिक्री गर्ने भएकाले उपभोक्ताले ताजा तरकारी पाउने बताउनुभयो । सङ्घले बजारलाई सघाउने उनको भनाइ थियो ।

जिल्ला कृषि सहकारी सङ्घसँग सहकार्य गरेर नगरपालिकाले बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा पाँच लाख बजेट विनियोजन गरेको थियो । बजार निर्र्माण भएपछि दुई वर्षअघि नै सञ्चालनमा ल्याइएको भए पनि कोरोना महामारीका कारण निरन्तरता पाउन सकेको थिएन ।

थोक बजारसमेत थपेर दुई वर्षपछि शुभारम्भ गरिएको हो । विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट तथा थोक बजार सञ्चालन गरेको प्रमुख पौडेलले जानकारी दिए ।

आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषिउपज सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने समितिले जनाएको छ ।

कृषि हाट बजार सञ्चालनमा आउँदा कृषि उपजका विचौलियाको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताउनुभयो । हाल दुई हजार वर्गफिटमा १० कक्ष रहनेगरी पाँच वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ टहरा बनाइएको छ । जग्गाको भाडा बागलुङ नगरपालिकाले बेहेर्ने छ ।रासस



प्रतिक्रिया दिनुहोस !