२३ मंसिर २०८२, मंगलबार

रुपन्देही मोतीपुरको सुकम्वासी समस्या समाधानका लागि कार्यदल,मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत

प्रकाशित मिति :  11 October, 2021 4:19 pm


रुपन्देही । रुपन्देहीको मोतीपुर क्षेत्रमा रहेका वास्तविक सुकुम्वासीको पहिचान गरि समस्या समाधान गर्न प्रदेश कार्यदल गठन हुने भएको छ ।

आज बसेको सुरक्षा समितिको बैठकले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल गठन गर्ने अधिकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुकुम्वासी समस्या सामाधान सुझाव कार्यदल गठन गर्ने गरि प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रदान गरेको हो ।

कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीको प्रतिनिधि , नापी कार्यालय रुपेन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपेन्देहीको प्रतिनिधि, भूमिहिनकोका प्रतिनिधि लगायत सहभागि गराउन भनिएको छ । बैठकमा लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मोतीपुरको सुकुम्बासी समस्या समाधानका लागि कार्यदल तत्काल गठन गरेर सुझाव दिन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

रुपन्देहीको मोतिपुरमा सुकुम्वासीको प्रर्दशनका क्रममा हिजो प्रहरीको गोली लागेर ४ जनाको मृत्यु र प्रहरीसहित थुप्रै घाइते भएपछि आज बसेको सुरक्षा समिति बैठकमा मुख्यमन्त्री केसीले प्रमुख जिल्ला अधिकारीलाई वास्ताविक सुकम्बासीको समस्या हल गर्नका लागि सुझाव कार्यदल गठन गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री केसीले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ राहतस्वरुप प्रदान गर्ने जानकारी दिएका छन् । दुवै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने लिने मुख्यमन्त्री केसीको भनाई छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनको लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्नका लागि अनुरोध गरेका छन् ।

बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको समेतसहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !