६ बैशाख २०८१, बिहिबार

नेप्सेमा २३ अंकको गिरावट, नबिल बैंकको सर्वाधिक कारोबार

प्रकाशित मिति :  11 October, 2021 4:19 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से आज ओरालो लागेको छ । दशैं विदाको अघिल्लो दिन आज नेप्से परिसूचक २३ अंकले घटेको हो । सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ५.५६ अंकले घटेर ४९४.२२ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर अर्थात् म्युचुअल फण्ड र लगानी समूह बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।

कारोबार रकमका आधारमा आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १७ करोड १३ लाख ८५ हजार ३ सय १८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज ग्लोबल आइएमई समुन्नत योजना १ को ईकाई मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । योजनाले बम्पर लाभांश घोषणा गरेपछि यस योजनामा लगानीकर्ताको आकर्षण बढेको हो । आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । बैंकको सेयर मूल्य ८.७६ प्रतिशतले घटेको छ ।
कूल २१९ वटा कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा भएको हुनाले अबको ५ दिन सेयरबजार पनि बन्द हुने नेप्सेले जनाएको छ । जसअनुसार असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने भएको हो ।



प्रतिक्रिया दिनुहोस !