१३ बैशाख २०८१, बिहिबार

रोल्पामा दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

प्रकाशित मिति :  12 October, 2021 6:31 pm


उमा केसी 

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर -६ दार्बोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको हत्या आफ्नै भाइले गरेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पूर्णबहादुरको हत्या उनकै भाइ ४८ वर्षीय अमराज बुढाले गरेको खुलेको जानकारी दिए ।

उनले भने,“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौं, नेपालगन्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्रायाक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घर भित्र छिरेर पत्ता लगाएको हो, अमरराजले पनि हत्या गरेको स्वीकार गरिसकेका छन् ।” अमरराजलाई प्रहरीले पक्राउ गरेको छ ।

राती एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाई अमरराजले दाई पूर्णबहादुरको हत्या गरेको प्रहरीको भनाई छ । पारिवारिक विवादका कारण हत्या भएको प्रहरीको निष्कर्ष छ ।

डिएसपी सुवेदीले अमरराजलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरि प्रकृया अगाडी बढाउने जानकारी दिए ।

बुढाको आफ्नै घरमा घाटी काटेको अवस्थामा हिजो शव फेला परेको थियो ।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको डिएसपी सुवेदीले जानकारी दिए ।

बुढा नेपाली काँग्रेसका क्रियाशील कार्यकर्ता थिए । उनी गत साउन २३ गते सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । हत्या भने घरायसी रिसवीका कारण भएको प्रहरीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !