२० बैशाख २०८१, बिहिबार

प्रदेश-५ स्थापना दिवस : विशेष समारोहबीच ३५ जनालाई पदक

प्रकाशित मिति :  15 February, 2020 5:47 pm


रूपन्देही, ३ फागुन। प्रदेश-५ स्थापना भएको शनिबारबाट २ वर्ष पुरा भएको    छ ।  २ वर्ष पहिले आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी फागुन ३ लाई सरकारले प्रदेश स्थापना दिवस मनाएको हो ।

दिवसका अवसरमा शनिबार बुटवलमा प्रभातफेरी निकालिएको छ । बुटवल उपमहानगरपालिका पनि स्थापनाको ६१ औं वर्षका अवसरमा संयुक्त रुपमा र्‍याली निकालिएको छ । बुटवलको राजमार्ग चौराहाबाट बिभिन्न बाजागाजा, झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो । र्‍यालीमा विभिन्न जातजाति र समुदायका झाँकी,पञ्चेबाजा,भजन,कृतन,लाखे नाच, मयूर नाच समेत प्रदर्शन गरिएको छ ।
र्‍यालीमा प्रदेशका मन्त्रीहरु, सभामुख,उपसभामुख, मन्त्रालयहरुका कर्मचारी ,नेपाल प्रहरी, सर्वसाधारण लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो ।

दिउँसो आयोजित विशेष समारोहमा ३५ जनालाई पदक प्रदान गरियो । पदक प्रदेश प्रमुख  धर्मनाथ यादव र मुख्यमन्त्री शंकर पोखरले प्रदान गरेका थिए ।

प्रदेश सरकारले लुम्बिनीको विकासमा योगदान पुर्याएको भन्दै जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिएको छ ।

त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित,  पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई  प्रदान गरिएको छ ।

त्यसैगरी संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लखनीय योगदान गरेको भन्दै रुकुम पूर्वका सूर्य प्रकाश पुन र परम्परा गौतमलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा पदक तृतीय पदक दिइएको छ ।

यसैगरी, संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गरेको भन्दै दाङका भगौता थारुलाई पनि प्रदेश प्रमुख जनसेवा पदक तृतीय प्रदान गरिएको छ ।

प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्जवलद्वीप पदक प्रथम दिइएको छ । उनकी श्रीमती  प्रदेश सभा सदस्य विमलाले पदक लिएकी छन् ।

प्रदेशको प्रमुख सचिवको रुपमा काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीय दिइएको छ ।

समाजसेवाश्री द्वितीय गुल्मीका शमशेरबहादुर खत्री (मरोणाप्रान्त) लाई दिइएको छ भने  संस्कृत शिक्षा विकासको क्षेत्रमा योगदान गरेकी दाङकी हिमा उपाध्यायलाई (मरणोपरान्त) र प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका बाँकेका अशोककुमार क्षेत्रीलाई पनि सो पदक दिइएको छ ।

त्यसैगरी, ‘समाजसेवाश्री पदक तेश्रो’ दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले  पाएका छन् ।

थारु भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रुपन्देहीका सिपी शर्मा र शशीधर पौडेललाई प्रदेश रत्न द्वितीय पदक प्रदान गरिएको छ ।

त्यसैगरी प्रदेश रत्न तृतीय पदक पाउनेमा भाषा साहित्यबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रुपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा योगदान गरेका गुल्मीका सोमपाल कामी रहेका छन् ।

यसैगरी, पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बाँकेका कृष्णलाल चौधरीले पाएका छन् ।

प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी वाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभुषित गरिएको छ ।

प्रजापति गौतमी तृतीयबाट दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागिरथी घर्तीलाई प्रदान गरिएको छ ।

दङ्गीशरण बलिहाङ प्रथम थारु भाषा साहित्यमा  योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दङ्गीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा योगदान गरेका जितबहादुर थापा मगर (मरणोपरान्त)लाई दिइएको छ ।

त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीय थारु भाषा प्रवर्द्धनमा योगदान गरेका बर्दियाका एकराज चौधरी, उर्दु भाषाको क्षेत्रमा योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ र अवधि भाषा साहित्यमा योगदान गरेका नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई प्रदान गरिएको छ । यस्तै बिभिन्न खेलाडीलाई पनि सम्मानित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !