२३ मंसिर २०८२, मंगलबार

मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

प्रकाशित मिति :  14 October, 2021 2:05 pm


सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको    छ ।

बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मङ्गलबार जुम्ला–मुुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्ने राससले उल्लेख गरेको छ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरी नायब महानिरीक्षक ऐरको भनाई छ ।

उनले भने,“बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ ।”



प्रतिक्रिया दिनुहोस !