बझाङमा पहिरोमा परेर २३ जना सम्पर्कविहीन,सयभन्दा बढी परिवार विस्थापित
बझाङ । बझाङमा पहिरोमा परेर २३ जना सम्पर्कविहीन भएका छन् ।
थलारा गाँउपालिका वडा नं ४ डिख्लामा बिहान ४ बजेतिर झरेको पहिरोपछि २३ जना बेपत्ता भएका हुन् । गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो खस्दा दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका बजाङबाट सञ्चालित द जेपी डेली अनलाइनले उल्लेख गरेको छ । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माईला छोरा काले सार्की मात्र शकुसल छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका छन् । गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
उनीहरू आफन्त र नजिकैको विद्यालयमा ओत लिएर बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले जानकारी दिए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।








