१२ बैशाख २०८१, बुधबार

‘पोस्ट मनसुनी’ अविरल वर्षाले लाखौं हेक्टरको धानबाली नष्ट, आर्थिक वृद्धि प्रभावित हुने

प्रकाशित मिति :  19 October, 2021 6:06 pm


काठमाडौं । नेपाली भूभागबाट बाहिरिइ सकेको वर्षा (मनसुन) पुनः फर्किएर ‘पोस्ट मनसुन’ भित्रिएसँगै  शनिबारदेखि भइरहेको अविरल वर्षाले देशको तराई भूभागमा लाखौं हेक्टर धानबाली नष्ट गरेको छ ।

पाकेर भित्र्याउन ठीक पारिसकेको धानबाली नष्ट हुँदा त्यसले देशमा खाद्यान्न संकट सिर्जना गर्ने र यसले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पार्ने जोखिम बढेको छ ।  कृषिमा धानबालीको मात्र १२ प्रतिशत योगदान छ । यो वर्ष ‘प्रि-मनसुन’ राम्रो भएको र मनसुन पनि समयमै सुरु हुँदा बढी क्षेत्रफ‌लमा धान खेती भएको कारण समग्र उत्पादन बढेर ५६ लाख मेट्रिक टन पुग्ने अनुमान गरिएको थियो ।

मनसुन अनुकूल भइ धानबालीको उत्पादन राम्रो भएको वर्ष आर्थिक वृद्धिदर पनि माथि चढ्ने र मौसम प्रतिकूल भएको वर्ष आर्थिक वृद्धिदर पनि घट्ने गरेको छ  । अघिल्लो सरकारले चालू आर्थिक वर्षमा ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेकोमा देउवा नेतृत्वको सरकारले त्यसमा संशोधन गरेर ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोषलगायतका विश्व आर्थिक संस्थाले भने यो वर्ष ४.४ देखि ४.५ प्रतिशतबीचको वृद्धिदर हासिल हुने अनुमान गरेका छन् ।

“दुई दिन लगातार पानी परेर धान खेतबाट उठाउन पाइएन भने खेतमै लडेर पसाउन थाल्छ, त्यो कामै नलाग्ने हुन्छ,” त्रियुगा नगरपालिकाका किसान नीरबहादुर थापा भन्छन्,  “पोहोर लकडाउन र केकेजाति भनेर धानबालीमा न समयमा रसायनिक मल हाल्न पाइयो, न त विषादी नै छर्न । फौजी कीरा र डढुवाले धेरै नास पार्‍यो । यसपाला त राम्रो होला भनेको कात्तिके झरीले बिगारिदियो ।”

विगतमा अतिवृष्टि, अनावृष्टि भइ देशभित्र खाद्य संकट सिर्जना हुँदा सरकारले ‘खाद्य संकटकाल’ घोषणा गरि देशभित्र खाद्यान्न संकट व्यवस्थापन गर्ने गरेको थियो । २०११ सालमा अतिवृष्टि हुँदा त्यसको व्यवस्थापनकै लागि सरकारले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा खाद्यान्न ओसारपसारमा नियन्त्रण गरेको थियो ।

यस्तै, २०१४ सालमा अनावृष्टि भइ खाद्यान्न संकट हुँदा सरकारले विशेष आदेश जारी गरि देशबाट खाद्यान्न निर्यातमा रोक लगाउनेदेखि आन्तरिक किनबेच र भण्डारणमा समेत नियन्त्रण गरेको थियो ।Image

“कोभिड-१९ प्रभावित गरिब परिवार लक्षित कार्यक्रम सञ्चालनमा राजनीतिक व्यवधान खडा गरियो, अहिले बेलैमा यी प्रभावित किसानको धानबाली जोगाउन तत्कालै पहल गरिएन भने भोलि देशभित्र ठूलो खाद्यान्न संकट सिर्जना हुनेछ,”- सरकारका एक वरिष्ठ अधिकारीले भने, “संकट सिर्जना भइसकेपछि १०/१५ हजारको राहत प्याकेज ल्याएर न त्यसबाट प्रभावित किसानले कुनै क्षतिपूर्ति पाउँछन्, न त सरकारले नै कुनै जस नै पाउन सक्छ।”

जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्मै ‘पोस्ट मनसुनी’ वर्षा हुने र यो क्रमसः पूर्वतिर सर्दै जाने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !