२५ मंसिर २०८२, बिहिबार

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

प्रकाशित मिति :  20 October, 2021 11:01 am


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा गएराति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।

राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए ।

गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए ।

घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !