लगातारको वर्षाले अर्घाखाँचीको जनजीवन प्रभावित,विद्युत र इन्टरनेट सेवा प्रभावित
अर्घाखाँची । बिगत तीनदिनदेखि लगातार परेको वर्षाका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।
मंगलबार राती अत्याधिक वर्षापछि आएको बाढीका कारण सदरमुकाम सन्धिखर्कको चुत्राबेसी हुदै बग्ने बाँगीखोला, भद्रीखोला र घोचाखोला उर्लिएर आसपासका घरहरूमा बाढी पसेको छ ।
गएराती करीब साढे १ बजेतिर चुत्राबेसीको भक्तिटोल,बाँगीखोलाका किनारमा रहेका घर लगायत चुत्राबेसी बजारका विभिन्न ठाउँका घरभित्रै खोला पसेको हो । बाँगी खोलामा रहेको कजवे तथा भक्तिटोल जीप काउन्टर नजिकैको खोलामा रहेको पुलमा तारजाली,बाँस र रुखहरू बगेर आई खोला छेकिदा बस्तीमा खोलो पसेको हो ।
बाँगी खोलाले सन्धिखर्कमा रहेका दुईवटा साना फलामे फट्के पुल बगाएको छ भने भद्री खोलाले २ वठा सामान्यखाले काठे पुल बगाएको छ । यस्तै पार्किङ्ग गरी राखीएको बाबुराम बेल्वासेको मोटरसाईकल समेत बगाए छ ।
मध्यरातमा घरभित्रै खोलो पसेपछि स्थानीयहरू रातभर जाग्राम बसेको थिए भने केहीले घर समेत छाडेर सुरक्षित स्थानमा गएका थिए । खोलाले रातभर त्रसित बनाएपनि अहिलेसम्म कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
वर्षाका कारण ग्रामिण क्षेत्रमा जाने मुख्य सडकहरू अबरुद्ध भएपनि अहिले सडक खोल्ने कार्य जारी रहेको सूचना अधिकारी खनालले बताए । सन्धिखर्क गोरुसिंगे सडक भने सञ्चालन रहेको खनालले जानकारी दिए । यस्तै बर्षाका कारण जिल्लाका बिभिन्न ठाउँका सडकहरूमा पहिरो झरेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण जिल्लामा अहिले बिजुली बत्तिको लाईन समेत अबरुद्ध भएको छ । जिल्लाको बिभिन्न स्थानमा पोलहरू ढलेर तार चुडिएको कारण लाईन अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण अर्घाखाँची भोला पाण्डेले जानकारी दिए । लाईन सञ्चालन हुन २र४ दिन लाग्नसक्ने पाण्डेको भनाई रहेको छ ।
लाईन अबरुद्ध भएसंगै धेरैजसो इन्टरनेट सेवापनि अबरुद्ध भएका छन । यस्तै सन्धिखर्क बजार क्षेत्रमा रहेको खानेपानी पनि बाढीका कारण अबरुद्ध भएको छ ।
खानेपानीको मुहानमा बाढी पसेको र पाईप खोलाले बगाउदा खानेपानी अबरुद्ध भएको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूलसंस्थाका कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।
अबरुद्ध खानेपानी वितरणगर्न केहिदिन लाग्ने कार्यालय प्रमुख आचार्यको भनाई छ ।








