२२ बैशाख २०८१, शनिबार

जलवायु परिवर्तनलाई कम नआँकियोस्ः कृषि अभियान

प्रकाशित मिति :  20 October, 2021 11:09 pm


काठमाडौं । खाद्यका लागि कृषि अभियानले वर्षाका कारण कृषि क्षेत्रमा भारी क्षति भएकोप्रति चिन्ता व्यक्त गरेको छ । क्षतिको आँकलन गरि यथासक्य क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको हो ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जलवायु परिवर्तनका कारण अनियमित वर्षा भएको भन्दै जलवायु परिवर्तनलाई कम नआँक्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।


विज्ञप्तिको पूर्णपाठः

ध्यानाकर्षणः वर्षाका कारणले पिडित किसानलाई क्षतिपुर्ती देउ !

तीन दिन देखिको अविरल बर्षाले नेपाली किसानको जनजीवनमा अकल्पनिय संकट थपिएको छ । नेपालको मुख्य अन्नबाली धान खेति भित्र्याउने समयमा भएको अनपेक्षीत बर्षाले किसानको बर्ष दिनको खानेकुराको जोहोमा बज्रपात परेको छ । बाढी र पहिरोले मानिस र बस्तुभाउको ज्यान गएको छ भने धेरै मानव बस्ती, बस्तुभाउ र खेतबारी समेत जोखिममा परेका छन् । नदीहरुको सतह खतरा तह भन्दा माथी छ । बर्षा अझै रोकिने छाँट छैन । अझै यो क्षति कति हुन्छ थाहा छैन ।

यो अनपेक्षित बर्षाले किसानको बिचल्ली भएको छ । सानाठूला सबै किसानको जीविकाको मुख्य आधार धान खेती तहस नहस भएको छ । पाकेको धानमा बाढी पसेको छ भने काटेको धान खेत आलीमै डुबेको छ । सगै, धान खेतीको मुख्य क्षेत्रमानै भएको डुबानले कृषिमा आधारित हाम्रो अर्थतन्त्र समेत प्रभावित भएको छ ।

प्रकृतिमा आउने यस्ता फेरबदलका कारण खेतीपाती उत्पादन प्रकृयाका हिसाबले अनिश्चय र ठूलो जोखिमको क्षेत्र हो । सरकार र यसका सरोकारवालाहरुले यो प्रकृतिको व्यवहारलाई पूर्वानुमान गरि किसानलाई जोखिमहरु घटाउन यथाशीघ्र भरथेक गर्ने कुरामा बेवास्ता गर्दा विगत केहि वर्ष देखि यस्तो जोखिम झन बढ्दै गएको छ । यसले हाम्रो जस्तो किसानीमा आधारित जीवनपद्धती नै संकटग्रस्त बन्दैछ ।
आम जनसमुदायको तत्काल खानेकुराको बन्दोबस्त गर्ने र घरव्यवहारमा समेत व्यापक प्रभाव पार्ने यो विपदमा यथासम्भव भरथेग गर्नु हामी सबैको साझा दायित्व हो । यो विपतमा ज्यान गुमाउने प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना सहित पिडित सबैमा समवेदना व्यक्त गर्दछाैं ।

  • पिडित किसानलाई धान खेती स्याहार गर्न तत्कालिन सहायता र भएको क्षतिको आकंलन गरि क्षतिपुर्ति दिन जोडदार माग गर्दछौ ।
  • हामी सरकार र सरोकोरवालाहरुलाइ यी कुराको ख्याल गर्दै जलवायूमा आएको फेरबदलसगै फेरिएको तापक्रम बर्षा, खडेरी, रोगकिराको प्रकोप जस्ता जोखिमको पुर्वानुमान र यसबारेको सुचना र चेतना फैलाउन अनुरोध गदर्छौ । सोचौ त यो बर्ष भरि परेको पानी जस्तै खडेरी भयो भने हाम्रो खाना र खेतीपातीको हालत के होला? जलवायूमा भएको परिवर्तनलाई कम नआक्न, यसलाई गभिंरतापुर्वक लिन र भविष्यमा यसले निम्त्याउने सम्भावित संकट प्रति सम्वेदनशील हुन यस्ता जोखिमको दीर्घकालिन समाधान प्रकृतिसम्मत खेतीपाती प्रणाली अपनाउने सुझबुझ राख्न आजैदेखि जिम्मेबार हुन आग्रह गर्दछाैं ।
  • सरकारले तुरुन्तै कृषिमा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने एउटा अधिकार सम्पन्न उच्चस्तरीय कार्यदल बनाओस् । यदि यस्तो कुनै संयन्त्र बनेको छ वा कार्यरत छ भने यसलाई आवश्यक थप अधिकार दिइयोस र सक्रिय बनाईयोस ।

अन्त्यमा, यी सबै कुरामा समयमै सचेत हुन सरकारलाई र यो सवाल उठाएर दवाब दिन आम जनसमुदायलाई यसै ध्यानाकर्षण पत्र मार्फत हार्दिक अनुरोध गर्न चाहन्छौ ।



प्रतिक्रिया दिनुहोस !