अर्घाखाँचीमा ट्राफिक प्रहरीको भवन निर्माण हुने
अनिल नेपाली
अर्घाखाँची । अर्घाखाँचीमा ट्राफिक प्रहरीको भवन निर्माण हुने भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १ मा रहेको जिल्ला प्रहरी कार्यालयको तलपट्टिको खाली जग्गामा जिल्ला ट्राफिक प्रहरीको आवासहितको भवन निर्माण हुने भएको हो ।
भवन निर्माणको कामलाई अगाडि बढाउन नारायणप्रसाद बन्जाडेको अध्यक्षतामा निर्माण समितिको गठन गरिएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सम्पन्न सरोकारवालाहरूको बैठकले बन्जाडेको अध्यक्षतामा १९ सदस्यीय निर्माण समिति गठन गरेको हो ।
समितिको सचिवमा ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्य र कोषाध्यक्षमा स्थानीय व्यवसायी केशव रिजाल चयन भएका छन् । समितिमा अर्घाखाँची उद्योग बाणिज्य संघ,अर्घाखाँची चेम्बर अफ कमर्श,नेपाल पत्रकार महासंघ , होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, निर्माण व्यवसायी संघ,पश्चिम नेपाल बस व्यवसायी प्रालि,देउराली यातायात अर्घाखाँची प्राली,लंका यातायात प्रालि र अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालिका प्रमुख सदस्य रहेको छ ।
यस्तै समितिको सदस्यहरूमा कृष्णप्रसाद श्रेष्ठ,दलबहादुर केसी,कबिराम खनाल, प्रदिप मिश्र, काशिराम बस्याल, बेदराज घिमिरे र आतिश किरण बिक छन् ।
बैठकले प्रहरी नायव उपरीक्षक अम्मर थापा,सन्धिखर्क नगरपालिका वडानं.१ का वडाअध्यक्ष युवराज बन्जाडे,२ का वडाअध्यक्ष मोतिजंग रायमाझी,पत्रकार रुद्रमणी भुसाल,गणेश खनाल र श्याम घिमिरेलाई अनुगमन समितिमा चयन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गणेश खनालले जानकारी दिए ।
झण्डै ३० लाख रुपैयाँको लागतमा बन्न लागेको भवनमा अर्घाखाँचीका ६ वटै स्थानीय तह सहित बिभिन्न सहयोगदाताहरूको सहयोगमा निर्माण गर्न लागीएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए ।
भवन निर्माण पश्चात जिल्लामा ट्राफिक व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रविण आचार्यको भनाई रहेको छ ।








