एमालेसँग निर्वाचनमा एक्लै भिड्ने सामर्थ्य कुनै दलमा छैन : रायमाझी
अर्घाखाँची । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले निर्वाचनमा नेकपा एमालेसँग एक्लै भिड्न सक्ने सामथ्र्य कुनै दलमा नभएको दाबी गरेका छन् ।
नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पहिलो अधिवेशनलाई आज सन्धिखर्कमा सम्बोधन गर्दै नेता रायमाझीले नेकपा एमालेप्रति जनताले देखाएको अपार माया ,बलियो संगठन र अनुशाशित कार्यकर्ता त्यसको प्रमाण भएको उल्लेख गरे ।
आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर प्रचण्ड ,माधव समुह कांग्रेसको शरणमा गएको आरोप लगाउँदै उनले परमादेशबाट निर्मित देउवा नेतृत्वको सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने जिकिर गरे ।
नेता रायमाझीले वर्तमान सरकार स्वार्थ समुहको झुन्ड भएको आरोप समेत लगाए । हालै सम्पन्न ऐतिहासिक बिधान अधिवेशनले पार्टीमा गति पैदा गरेको भन्दै वडा र पालिका तहका अधिवेशन सम्पन्न गरिसक्दा नेकपा एमालेमा देखिएको अजय शक्तिलाई रोक्न सक्ने सामर्थ्य कुनै दलमा नभएको उनको दाबी थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा सबैदल मिलेर चुनाव लडें पनि नेकपा एमालेलाई जित्न नसक्ने भन्दै उच्च मनोबलका साथ जनता बीच जान कार्यकर्तालाई निर्देशन दिए ।
लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्यले वैदेशिक शक्ति केन्द्रको इसारामा निर्मित परमादेश वाला सरकार मुलुकको लागि बोझ भएको भन्दै मुलुकमा निर्वाचनको बिकल्प नभएको जिकिर गरे ।








