४ जेष्ठ २०८१, शुक्रबार

पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष रहेको ठहर,संसद भवनको यात्रा के हुन्छ ?

प्रकाशित मिति :  17 February, 2020 3:43 pm


 

काठमाडौं, ५ फागुन। पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष ठहर गरेको छ।

आइतवारको बहसपछि सोमबार न्यायाधीश अम्बरराज पौडेलको इजालसले महरा निर्दोष रहेको फैसला सुनाएको हो।

अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।’

गत दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि जिल्ला अदालतको अादेशमा महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको थियो ।

अदालतको अादेशपछि महरा अाजै रिहा भएका छन् । रिहाका क्रममा महरालाई ठूलो संख्यामा नेता कार्यकर्ताले स्वागत गरेका थिए । कारागारमा माला लगाएर पूर्वसभामुख महरालाई विदाई गरिएको थियो ।
कारागारबाट निस्कने क्रममा महराले भने’,मलाई न्याय दिलाउने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु । कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु । अरु कुरापछि गरौंला ।’

२०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा फागुन २५ गते सभामुखमा निर्वाचित भएका थिए । बलात्कारको अारोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । सभामुख पद गुमेपनि  संसदको रूपमा महरा संसद भवन फर्कने छन् ।
संसद नियमावलीमा प्रहरी हिरासतमा कारगारमा रहँदा सांसदको सेवा सुविधा रोकिने व्यवस्था छ। अदालतको फैसलाले सफाई पाएको निवेदन दर्ता हुनसाथ उनी फेरि सांसदको रुपमा फर्कन पाउनेछन् ।

संसद नियमावलीको परिच्छेद ३० को २४४ मा थुनामा रहेको अवधिभर सांसदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजका पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने उल्लेख छ।

निर्दोष ठहर भएपछि महरा फेरि संसदका रूपमा फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस !