‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई
काठमाडौं । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ ।
पोखरास्थित फेवाताल किनारमा हिजो साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भए ।
यसैगरी बालचन्द्र बराल र शोभा कार्कीको जोडी द्वितीय भयो । उनीहरुले १० लाख रुपैयाँ र ५० लाख रुपैयाँको बिमा पुस्कार पाए ।
सविन आचार्य र रीता रावतको जोडी तृतीय बन्दै ३ लाख रुपैयाँ पुरस्कार पाए भने राजेन्द्र पाठक र मीना नेपालको जोडीले सान्त्वना स्थान हासिल गर्दै २ लाख रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा विजयी कलाकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल टेलिभिजनमार्फत हरेक हप्ताको शनिबार दोहोरी च्याम्पियन कार्यक्रम प्रसारण हुँदै आएको थियो ।
देशभरबाट डिजिटल अडिशनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिशन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । उत्कृष्ट २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको आयोजकले जनाएको छ ।








