४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश ५ को नाम र स्थायी राजधानी टुंगाउन ढिलो गरे संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

प्रकाशित मिति :  18 February, 2020 4:36 pm


रूपन्देही, ६ फागुन। प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गर्दै ढिलो गरे सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाठकले प्रदेशसभाको पाँचौ अधिवेशनसम्म आइपुग्दासमेत स्थायी राजधानी र नामाङ्कनको विषय संसदमा प्रवेश नगराईएको भन्दै अापत्ति जनाए । उनले अब पनि ढिलासुस्ती गरिए कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिए ।

‘दुई वर्ष बित्दासम्म राजधानी र नामको टुंगो नलगाइ अनावश्यक ढिलाइ गर्ने काम भइरहेको छ,’ सांसद पाठकले भने, ‘जति घुमाउन खोजे पनि संसदबाटै छिनोफानो गर्ने हो, छिटो प्रस्ताव ल्याइयोस् अन्यथा कांग्रेसले संसद अवरुद्ध गर्छ ।’

स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।

समितिले करिब दुई वर्ष समय लगाएर प्रतिवेदन प्रदेशसभा सचिवालयमा बुझाइसकेको छ । प्रतिवेदन बुझाएको तीन महिना लाग्दा समेत उक्त विषय संसदमा प्रवेश भएको छैन ।



प्रतिक्रिया दिनुहोस !