१२ श्रावण २०८१, शनिबार

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति :  19 February, 2020 6:56 pm


सुर्खेत, ७ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको स्पष्ट पारेका छन् ।

सुर्खेत विमानस्थलमा बुधवार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताए ।

‘प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्,’ उनले भने, ‘प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो, अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन ।’
अध्यक्ष प्रचण्डले सङ्घीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेषरुपले सम्बोधन गर्नुपर्ने बताए।

पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले सङ्घीय सरकारलाई आवश्यक निर्देशन दिने बताए । प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा प्रचण्डले सङ्घीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस !