१२ श्रावण २०८१, शनिबार

रुकुमपूर्वमा पर्यटन गन्तव्यले निरन्तरता पायो

प्रकाशित मिति :  19 February, 2020 7:24 pm


रूकुमपूर्व, ७ फागुन। गत वर्षबाट रुकुमपूर्वमा शुरु भएको पर्यटन गन्तव्य कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ ।

प्रदेश नं ५ सरकारले जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत पर्यटन गन्तव्य निर्माणको काम गरिरहेको छ । कार्यालयले जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरालाई केन्द्र मानेर पर्यटन गन्तव्यको विकास गर्र्ने कामको थालनी गरेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए ।

यस कार्यक्रम कार्यान्वयनका लागि गत वर्ष एक करोड रुपैयाँको बजेट विनियोज गरिएको थियो । कार्यक्रम कार्यान्वयन गर्नका लागि यस वर्ष पनि त्यत्ति नै बजेट छुट्याइएको उनले जानकारी दिए । अोलीका अनुसार गत वर्षको बजेटबाट पुथाउत्तरगङ्गा गाउँपालिका–१३ को विर्गुमगाउँमा उद्यान निर्माण, स्वागतद्वार, विर्गुमको टावरसम्म पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी विर्गुम पोखरी संरक्षणका लागि पर्खाल लगाइएको छ भने भ्यूटावर निर्माणको काम पनि थालिएको छ । यस वर्ष यस कार्यक्रमबाट तकसेरामा सामुदायिक पाहुनाघर र सङ्ग्रहालय निर्माण गरिने छ ।

भूमे गाउँपालिकासहित पुथाउत्तरगङ्गा गाउँपालिकाका सबै वडालाई यस कार्यक्रमसँग जोडेर बृहत पर्यटन गन्तव्य बनाई पर्यटन क्षेत्रको विकास गर्ने प्रदेश सरकारको उद्देश्य छ । यस कार्यक्रमका लागि क्रमिकरूपमा बजेट छुट्याएर त्यस क्षेत्रलाई पूर्ण पर्यटन गन्तव्य बनाउने प्रदेश सरकारको योजना छ । प्रदेश नं ५ को एकमात्र हिमाली जिल्ला रुकुमपूर्व प्राकृतिक र सांस्कृतिक रूपले धनी मानिने जिल्ला हो ।



प्रतिक्रिया दिनुहोस !