१७ असार २०७९, शुक्रबार

गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने प्रचण्डको भनाई

प्रकाशित मिति :  22 February, 2020 7:35 pm


काठमाडौ,१० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे । ‘सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’, अध्यक्ष दाहालले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ । म अहिले यति मात्रै भन्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले अहिले चर्चामा रहेको एमसिसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले हिजो मात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए ।

कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनको भनाई छ । ‘एमसिसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ’, उनले भने, ‘यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पु¥याउनेछ ।’



प्रतिक्रिया दिनुहोस !