११ बैशाख २०८१, मंगलबार

पचास बेडको अस्पताल भए स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा समावेश गछौं : डा. भुसाल

प्रकाशित मिति :  9 December, 2021 2:02 pm


अर्घाखाँचीलाई प्राविधिक शिक्षाको हब बनाएर नेपालका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले अर्घाखाँचीमा कृषि वन (एग्रो फरेष्टी) बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ । यस शिक्षालयमा अहिले डिप्लोमा तहमा बाली विज्ञान र पशु विज्ञान कार्यक्रममा आधारित विषयहरूको पढाइ भइरहेको छ । आगामी दिनमा थप विभिन्न कार्यक्रमहरू ल्याउने तयारी शिक्षालयको छ । प्रस्तुत छ, यसै सन्दर्भमा शिक्षालयको स्थापना, सेवासुविधा, पढाइ हुने विभिन्न विषय र शिक्षालयको आगामी योजना लगायतका विषयमा केन्द्रित भएर एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख डा राजु भुसालसँग गरिएको कुराकानीको सम्पादित अंश

१) अहिले शिक्षालयमा कुन कुन बिषयको पढाइ भइरहेको छ ?

एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयमा हाल डिप्लोमा बाली विज्ञान र पशु विज्ञान कार्यक्रम ३ वर्षे पढाइ भइरहेको छ ।

२) यी विषयहरू अध्ययन गर्नका लागि विद्यार्थीहरूले कति शुल्क तिनुपर्छ ?

यी दुवै विषय पूरा गर्नका लागि तीन वर्षमा विद्यार्थीहरूले ८९,००० र सहुलियत तर्फ ५४,९०० हजार शुल्क तिर्नुपर्छ । हामीसँग भएका यी कार्यक्रमहरू निजी प्राविधिक शिक्षालयहरु पढ्दा विद्यार्थीहरुले योभन्दा निकै महँगो शुल्क तिर्नुपर्ने हुन्छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय भएकाले हामीकहाँ निकै सस्तो शुल्क छ । यसका अतिरिक्त हामीले जेहेन्दार छात्रवृत्ति र अन्य छात्रवृत्ति गरेर दुवै कार्यक्रममा ४÷४ जनाका दरले ८ जना विद्यार्थीहरूलाई निःशुल्क पढाउने गरेका छौं ।

३) डिप्लोमा तहका स्वास्थ्यतिरका पनि धेरै कक्षा सञ्चालन गर्न सकिन्थ्यो ? कृषि र पशुलाई पहिलो प्राथमिकतामा किन राख्नुभयो भविष्यमा अन्य कार्यक्रम थप्ने योजना छ कि छैन् ?

शिक्षालय सञ्चालन गर्न र भौगोलिक अवस्था अनुसार कृषि तथा पशु विज्ञान उत्तम रहेको र सोही कार्यक्रम अनुसार भवन निर्माण भएकोले अहिले नै विभिन्न कार्यक्रम ल्याउन सकिएको छैन् । निकट भविष्यमा स्वास्थ्यतर्फका कार्यक्रम थप्ने योजना  छ । तर स्वास्थ्य कार्यक्रम थप्दा ५० बेड भएको अस्पताल हुनुपर्ने प्रावधान छ । जिल्लामा उक्त पूर्वाधार नभएकोले त्यस्तो पूर्वाधार विकास गरिए थप कार्यक्रम विस्तार गर्न सकिनेछ ।

४) विद्यार्थीहरूको सिप विकासका लागि तपाईँहरूसँग प्रयोगात्मक अभ्यासको अवस्था कस्तो छ?

सिप विकासको निम्ति हामीकहाँ पूर्वाधार हाल सञ्चालित कार्यक्रमको लागि अन्य ठाउँमा समेत भएका पूर्वाधार छन् । आफ्नै फर्म बाख्रा भेडा कुखुरा गाई भैंसी माछा पोखरी तरकारी उत्पादनलाई टनेल हाउस, नर्सरी हाउस, मसरुम हाउसका साथै दैनिक कार्यको लागि पशु क्लिनिक तथा खेती योग्य जमिन रहेको छ ।

५) शिक्षालयलाई नमुना बनाउन के कस्ता नीति बनाउँदै हुनुहुन्छ ?

नमुना बनाउन हामीले कार्ययोजना तयार पारेका छौं । र त्यसैलाई निरन्तरता दिँदै सायद जिल्लाकै नमुना भइसकेको र आगामी दिनमा प्रदेशस्तरीय नमुना बनाउँदै लाने प्रयास गरिरहेका छौं ।

६) अहिले कुन क्षेत्रका विद्यार्थीहरूले खासमा शिक्षालयमा अध्ययन गरिरहेका छन् ?

हाल शिक्षालयमा लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश प्रदेश २ का विद्यार्थी अध्ययनरत छन् । जसमा यस जिल्लाका विद्यार्थी गत वर्षसम्म सोचे जस्तो नभएतापनि बढ्ने क्रम जारी रहेको छ ।

७) प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीहरूले रोजगारी पाउँछन् भन्ने आधार के हो ?

प्राविधिक शिक्षा विकासको मेरुदण्ड हो । सिप सिकेर हस्तान्तरण गर्नु नै मुख्य उदेश्य हो पढेर जागिर खाने भन्दा आफै उद्यमशील भइ अरुलाई जागिर दिलाउनु नै प्राविधिक शिक्षा हो । हाल रोजगारीका सम्भावना विभिन्न मन्त्रालय कृषि विभाग पशु सेवा विभाग स्थानीय तह प्रदेशतहमा लोकसेवाले विज्ञापन गरिरहेको छ । त्यस्तै नार्क र विभिन्न एनजीओ/आईएनजीओ फर्ममा पनि रोजगारी पाउने सम्भावना छ ।

८) समय परिस्थितिसँगै विद्यार्थीमा प्राविधिक शिक्षाको मोह बढ्दै गएको छ किन ?

प्राविधिक शिक्षालयहरूमा मात्रै होइन अन्य शिक्षालयहरूमा पनि संख्या बढिरहेको नै छ । अहिले हाम्रो समाजको चेतनास्तर निकै माथि उठेको छ । सरकारको नीति अनुसार ७०% भन्ने भएता पनि प्राविधिक शिक्षा पढेर कम समयमा रोजगारी पाउन सकिने स्वरोजगारीका अवसर सिर्जना गर्न सकिने भएकोले प्राविधिक शिक्षाप्रति मोह बढ्दै गएको छ ।

९) शिक्षालयमा पहुँचका आधारमा विद्यार्थी छनोट भए भने सुनिन्छ सबै सर्वसाधारण जनताका बीचमा प्राविधिक शिक्षा पुयाउन के गनुपर्ला ?

प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा तालिम परिषद्को सुचना अनुसार प्रदेश कार्यालयको रिजल्ट र वरियताक्रम अनुसार हुने भएकोले यसमा कुनै आधार छैन पहुँचभन्दा पनि जागरणको अभाव छ । त्यसको लागि प्रचार प्रचार जनचेतना मुलक अभियान चलाउन आवश्यक देखिन्छ ।

१०) अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

तपाईंहरूको लोकप्रिय मिडिया मार्फत् हाम्रा कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा सर्वप्रथम तपाईँको संस्था र तपाईप्रति आभारी छु । प्राविधिक शिक्षामा गुणस्तरीय शिक्षा हेरौं भविष्यमा सुनिश्चित गर्न अभिभावक जागरूक हुन अनिवार्य देखिन्छ । साथै सम्पूर्णको साथ सहयोगको अपेक्षा गर्दछौं ।

प्रस्तुती :अनिल नेपाली



प्रतिक्रिया दिनुहोस !