३१ असार २०८१, आइतबार

मुलुकको पछिल्लो अवस्थाबारे टिप्पणी गर्दै पूर्व एआईजी सुवेदीले सुनाए बाँदरको कथा

प्रकाशित मिति :  24 February, 2020 9:28 am


काठमाडौ, १२ फागुन ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) देवेन्द्र सुवेदीले अकबर र बाँदरको कथा समाजिक सञ्जाल फेसबुकमा राख्दै मुलुकको पछिल्लो अवस्थाबारे टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा मुगल बादशाह अकबर र बाँदरको सम्बन्धबारे कथा पोष्ट गरेका छन् । रोल्पा घर भएका पूर्व  एआईजी सुवेदीले भनेका छन्,’४८ बर्ष पछि मुलुकको अबस्थाले बुबाले मलाई सुनाउनु भएको यो कथा तपाईँहरुलाई सुनाउनु पर्ने कर्तब्य बोध भएकोले सुनाएँ ।’

राजनीति र अपराधको सम्बन्धबारे तिखो विश्लेषण गर्ने पूर्व एआईजी सुवेदीले लेखेको कथामा भनिएको छ,’बिरबलको पोल्टाबाट भुँईमा गुडेका पाकेका आँप देख्नासाथ अकबरको हुक्का समातेर छेउमा बसिरहेको उन्को पृय बाँदर हुक्का अकबर तिर हुत्याएर आाँप टिप्न हाम् फाल्दा चिलिमको आगो सल्केर अकबर को दाढी र शाही पोशाक डढाईसकेको थियो ।

शान्त भाबले अकबरका अगाडि उभिएका बिरबलले त्यति बेलै अकबरको छातिमा ढलेको हुक्का अनि भुईँमा टुक्रुक्क बसेर पाकेको आँप चुसिरहेको अकबरको पृय बाँदर तर्फ देखाएर मुगल बादशाह दुर्रे दुर्रानी अकबरलाई बिन्ति गरे ,
” जहाँपनाह ! बाँदर भक्ति माथि बिश्वासको परिणाम यस्तै हुन्छ ।”

पछिल्ला समय तत्कालीन सञ्चार तथा प्रविधि गोकुल बाँस्कोटाको घुस सम्बन्धि अडियो बाहिरिएको केहिदिनमा पूर्व एआईजी सुवेदीको कथात्मक टिप्पणी आएको हो ।

पूर्व एआईजी सुवेदीले मुलुकको पछिल्लो अवस्थाप्रति टिप्पणी गर्दै समाजिक सञ्जाल फेसबुकमा लेखेको कथा-

मेरो बुबाले म बालकै छदाँ राती सुत्ने बेलामा मलाई सुनाउनु भएको कथा यस्तो थियो :

मुगल बादशाह अकबरको बाँदर प्रेम निकै बढिरहेको थियो । मुगल दरबारका नौ रत्न मध्येका एक बिरबललाई बादशाहको बाँदर लाई पाल्तु जनावर सरहको पालन पोषण र उ सँगको खेल बहार बिलकुलै मन परिरहेको थिएन ।
बेला बेलामा बादशाहलाई सुनाउथे , ” जहाँपनाह! बाँदरसँग बिश्वास गर्नु मुर्खता हो । यो जानवर मान्छेको नजिकको जस्तोलाग्छ, तर यस्को बाँदर बुद्धि कदापि र कदाचित भर पर्दो हुदैन , त्यसैले यस सँग खेल व्यवहार नगर्दा जाती ।”

तर बादशाह अकबरले बिरबलको कुरा एक कानले सुने र अर्को कानले उडाईदिए र बाँदर सँगको खेल बहार जारी नै राखे । ” लौ हेर त बिरबल , मेरो यो बाँदर कति बुद्धिमान छ , कति होशियार छ, कति भक्त छ यो मेरो ।” विभिन्न बाँदरे चर्तिकला प्रति सह्राहना गर्दै अकबरले बाँदरको धाप मार्थे ।

बाँदरको प्रकृति त बाँदर नै हुन्छ , कुन दिन आफ्नो प्राकृतिक बाँदरे प्रबृति देखाएर हुन सम्मको खति हुन्छ अनि बादशाहको भ्रम टुट्छ , बिरबल लाई लाग्यो । तर फेरि खति ज्यानै जाने, धनै नाश हुने या ईज्जतै जाने खालको भयो भने ? त्यस्को क्षति पुर्ति कसरी होला । बादशाह त बाँदर प्रेममा अन्धा भै सकेका छन , जे पनि हुन सक्छ । बिरबलको बिबेकले भन्यो , ” बिरबल! बादशाहले मुति सकेपछि बल्ल दैलो देख्लान , अगाडि नै दैलो देखा , आँगनमा मुत्न न दे ।”

बादशाह अकबर सधैँ झै बालिष्टमा अडेस लगाएर बादशाही आसनमा बिराजमान थिए । उन्को पृय पाल्तु बाँदर अकबरको सुनको हुक्का समातेर छेउमा बसिरहेको थियो । अकबर बाँदरले समातेको हुक्काबाट तमाखु गुडगुडाईरहेका थिए । धुँवा तान्दा रातो भएको कोईलाले चिलिम धपक्क धपक्क बलिरहेको थियो । भारदारी सभा चलिरहेको थियो । तर बिरबलको भने अत्तो पत्तो थिएन ।

बादशाहले फर्मान जारी गरे , जहाँ जे जस्तो हालतमा छ, तत्काल सभामा बिरबललाई हाजिर गराउनु । आठपहरियाहरु बिरबललाई खोज्न चारैदिशा तर्फ दौडिए ।

केही बेरमा खबर आयो, बिरबल बादशाहको बगैँचमा रुख चढेर पाकेका आँप टिप्दैछन ।

केही बेरमै पोल्टा भरि पाकेका अाँप बोकेका बिरबल सभामा अाई पुगे र बादशाही अासन नजिक पुगेर अकबरलाई अादाब अर्ज गर्न झुके । बिरबल झुक्नु र उन्को पोल्टाबाट पाकेका अाँप खसेर बादशाही आसनका अगाडि गुड्नु एकै साथ हुन पुग्यो ।

” बिरबल! कहाँ बेपत्ता ? ….भारदारी सभा भन्दा आँपको बगैँचा …” तमाखुको सर्को छोड्दै मुखबाट निस्केको अकबरको वाक्य पनि पूरा भएको थिएन , बादशाहको दाढी र छाति तिर अागो सल्केको देखियो ।

बिरबलको पोल्टाबाट भुँईमा गुडेका पाकेका आँप देख्नासाथ अकबरको हुक्का समातेर छेउमा बसिरहेको उन्को पृय बाँदर हुक्का अकबर तिर हुत्याएर आाँप टिप्न हाम् फाल्दा चिलिमको अागो सल्केर अकबर को दाढी र शाही पोशाक डढाईसकेको थियो ।

शान्त भाबले अकबरका अगाडि उभिएका बिरबलले त्यति बेलै अकबरको छातिमा ढलेको हुक्का अनि भुईँमा टुक्रुक्क बसेर पाकेको अाँप चुसिरहेको अकबरको पृय बाँदर तर्फ देखाएर मुगल बादशाह दुर्रे दुर्रानी अकबरलाई बिन्ति गरे ,
” जहाँपनाह ! बाँदर भक्ति माथि बिश्वासको परिणाम यस्तै हुन्छ ।”
————

कथा सकियो , अनि म भुसुक्क निदाएँ

———–
४८ बर्ष पछि मुलुकको अबस्थाले बुबाले मलाई सुनाउनु भएको यो कथा तपाईँहरुलाई सुनाउनु पर्ने कर्तब्य बोध भएकोले सुनाएँ ।



प्रतिक्रिया दिनुहोस !