२ जेष्ठ २०७९, सोमबार
अन्तर्वार्ता

‘सीमित व्यक्तिले सेयर बजार कब्जा गर्न सक्दैनन्’

प्रकाशित मिति :  20 December, 2021 2:35 pm


पुँजी बजारलाई प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा निर्वाचित भएपछि अम्बिकाप्रसाद पौडल पुँजी बजार फोरमको सभापति छन्। सेयर बजारमा चर्चित पौडेलले आफ्नो उपस्थिति पूर्वाधार, पर्यटन, ऊर्जा लगायतका विभिन्न क्षेत्रहरूमा पनि विस्तार गरिसकेका छन्। पुँजी बजारमा करिब २८ वर्ष बिताइसकेका पौडेल नेपाल टेलिकमदेखि विभिन्न क्षेत्रका कम्पनीको सञ्चालकको जिम्मेवारीमा पनि छन्। नेपाल सरकारको निजामती सेवामा शाखा अधिकृत भएर करिब ११ वर्ष सेवा गरेका पौडेल सेयर बजारमा पूर्ण रूपमा प्रवेश गरेसँगै सेयर लगानीकर्ता मात्र सीमत नभइ उद्यमी नै बनिसकेका छन्। पौडेलसँग सेयर बजारको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा टक्सारले गरेको कुराकानी : हालसम्मकै उच्च विन्दु करिब ३ हजार २ सयको विन्दुमा पुगेको धितोपत्र बजार सूचक अहिले घटेको अवस्था छ, बैंकिङ प्रणालीमा पनि तरलता अभावको समस्यासँगै ब्याजदर पनि बढ्दो गतिमा देखिन्छ, यसले सेयर बजारलाई प्यानिकतर्फ लाने त होइन ? धितोपत्र बजार सूचकमा आएको अहिलेको गिरावट ‘प्यानिक’ अवस्था उन्मुख छ भन्ने लाग्दैन । बजारको गतिलाई हेरेर नै हामी आतिन हँुदैन । निरन्तर बढिरहेको बजार पछिल्लो समयमा घट्दो गतिमा देखिएको छ । यो भनेको सामान्य करेक्सन हो । तर, बजारको सुधार सँधै कायम रहन्छ भन्ने मान्यता पनि लिनु हुदैन । बजार सँधै बढ्ने वा घट्ने भन्ने हँुदैन । धितोपत्र बजारको वृद्धिलाई सहयोग गर्ने र असहयोग गर्ने तत्वहरू कति मौजुद छन् भन्नेतर्फ पनि चर्चा गर्नुपर्छ । धितोपत्र बजारमा कहिलेकाहीँ असहयोग गर्ने क्षणिक तत्वहरू हाबी हुन्छन् । यस्तो अवस्थामा जस्तो गतिमा सुधार भए पनि बजारमा केही करेक्सन आउँछन् । अहिले अर्थतन्त्र तथा सेयर बजारसँग जोडिएका सबै पक्षहरूलाई सरसरती हेर्दा त्यस्तो आतिन पर्ने वा प्यानिक हुने गरी घट्नुपर्ने तत्वहरू धेरै देखिँदैनन् । पछिल्लो केही समययता क्षणिक रूपमा आएका फ्याक्टरहरूले बजारलाई असहयोग गरिहेको देखिन्छ । तर, त्यो दीर्घकालीन होइन । केही समय दिएको खण्डमा त्यसमा सकारात्मक परिणाम आउने फ्याक्टरहरू नै धेरै छन् । त्यससँगै बुझ्नुपर्ने भनेको पुँजी बजारको डाइमेन्सन प्रविधिसँगै परिवर्तन भएको छ । त्यतिमात्र नभइ पछिल्लो समयमा सचेत लगानीकर्ताको सहभागिता पनि उल्लेख्य बढेको छ । हामीले अहिलेको लगानकर्ता, पूर्वाधार तथा समयलाई आधार मानेर भविष्यवाणी गर्न हुँदैन । धितोपत्र बजारमा नयाँ फ्याक्टर के–के थपिए, प्रविधिमा के के सुधार भए, कस्ता प्रकृतिका लगानीकर्ता आए भन्ने कुराले धेरै महत्व हुन्छ । यी कुरा भनेका नेपालको धितोपत्र बजारमा निकै सकारात्मक भएको हुनाले पनि भोलिका दिनमा बजारमा सुधार आउँछ । धितोपत्र बजारको सुधारका लागि नीति–निर्माताहरू पुँजी बजारको महत्व, पुँजी बजारले अर्थतन्त्रमा पार्ने दीर्घकालीन प्रभाव र वैदेशिक लगानीसँगको सम्बन्धको विषयमा जानकार नभएको देखियो । अर्थतन्त्र चलायमान बनाउन पुँजी बजारको भूमिका ठुलो हुन्छ । यी विषयमा नीति निर्माताले बुझ्न नचाहेका हाे वा हामीले बुझाउन नसकेको हो भन्ने विषयमा स्पष्ट हुन जरुरी   दिन्छ । सेयर लगानीकर्ता क्षणिक भए होला । यसको नतिजा अहिलेको बजारले नै देखाइसकेको छ । भोलिका दिनमा यो कुरा बुझेको नेतृत्व नीति–निर्माण तहमा आएको अवस्थामा बजारका समस्या समाधान हुन्छन् । त्यसका लागि लगानीकर्ताहरूले पनि बुझाउने पहल गर्नुपर्ने देखियो । अहिलेको मुख्य समस्या नै त्यही हो । पुँजी बजारको विकास भएका देशको अवस्था हाम्रो भन्दा धेरै स्तरीय छ । आज विदेशी लगानी आउनको लागि पुँजी बजार भाइब्रेन्ट हुनुपर्दछ । हामीले लामो समयदेखि पुँजी बजारमा विदेशी लगानी भित्र्याउने अथवा एनआरएनलाई लगानी गर्न बाटो खुला गर्ने भनेका थियौँ । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था समेत गर्ने आवाज उठिरहेको छ । जबसम्म एउटा विदेशी लगानीकर्ताले आफ्नो लगानी बिक्री गरेर फाइदा लिन सक्छ भन्ने वातावरण देख्दैन, तबसम्म विदेशी लगानी आउँदैन । विदेशी लगानीकर्ताले गरेका लगानी बिक्री गर्न परेको खण्डमा बजारमा व्यक्ति खोज्दै हिँड्नु पर्ने अवस्थामा सुधार हुनु जरुरी छ । विभिन्न क्षेत्रमा विदेशी लगानी आउन नसक्नुको मुख्य कारण भनेको बिक्री गर्न चाहेको समयमा बिक्री गर्नका लागि उपयुक्त बजारको विकास नहुनु नै हो । मार्केटमै सेल गर्न सक्ने वातावरण बन्नु पर्छ । त्यसमा क्लियर नहुँसम्म विदेशी लगानी बढ्दैन । त्यसलाई हामीले बुझन् सकेका छैनौं । धितोपत्र बजारको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हाराहारीमा पुगेको अवस्था छ, तर, बजार अझै पनि पुरानै शैलीमा चलिरहने अवस्था हो, हैन र ?  पछिल्लो समयमा धितोपत्र बजारको कुल बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन बराबर भयो भनियो । त्यो होइन । दुनियाँभरि एउटै प्राइस भए पनि हामीसँग एउटै कम्पनीको सेयर मूल्य तीन वटासम्म छ । सबै कम्पनीको सेयर मूल्य तीन नभए पनि अधिकांश कम्पनीको सेयर संस्थापक र सर्वसाधारण भनेर छुट्याइएको छ । यी दुवै सेयर मूल्य फरक छ । तर, बजार पुँजीकरणका लागि दोस्रो बजारमा कारोबार भइरहेको सेयर मूल्यलाई आधार मानेर निकालिन्छ । त्यसमा संस्थापक छुट्टै र पब्लिक सेयरको छुट्टै गणना गरेर निकालेको भए व्यवहारिक हुन्थ्यो । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्न मिल्थ्यो । अहिले बजारको आकार कुल गार्हस्थ्य उत्पादनको करिब ५० प्रतिशत मात्र    हो । उदाहरणको लागि एभरेष्ट इन्स्योरेन्सको हेर्नु भयो भने एभरेष्ट पी टे«डेबल, एभरेष्ट पी धितोपत्र बोर्डको स्वीकृति लिएर कारोबार गर्नुपर्ने, पब्लिक सेयर गरेर तीन प्रकारका सेयर मूल्य कायम भएको देखिन्छ । यसमा फ्लोट मार्केट क्यापिटलाइजेसनको मात्र हेर्दा मिल्न सक्छ । त्यो कुल गार्हस्थ्यउत्पादन भन्दा धेरै तल छ । दुनियाँभरको बजारको आकारलाई जीडीपीसँग तुलना गर्ने पुरानो सिद्धान्त हो । अहिको डिजिटलाइजेसनको युग कम्पनी स्थापना गरेर पब्लिक सहभागिता बढाइ मूल्य सिर्जना गर्ने समय हो । त्यसमा धितोपत्र बजारलाई जीडीपीसँग धेरै टाइअप गरिराख्नुपर्ने आवश्यकता हुँदैन । विश्वमा कुल गार्हस्थ्यउत्पादनको तुलनामा दुई सय गुणासम्म बजार पुँजीकरण भएका धितोपत्र बजारहरू पनि छन् । हामीले यो कुरालाई पनि गम्भीर रूपमा हेर्नुपर्छ । हामीले पुँजी बजारमा बैंकिड क्षेत्रको तरलता र ब्याजदरको मुख्य भूमिका हुन्छ भन्छौं । त्योभन्दा पनि बजारमा आएको परिवर्तनको विषयमा सोच्नु पर्ने हुन्छ । त्यतिमात्र नभइ बजारमा प्रवेश गर्ने लगानीकर्ता कस्ता छन भन्ने कुराले पनि धेरै महत्व राख्छ । हिजो करिब २० हजार लगानीकर्ता मात्र भएको अवस्थामा साधारण सेयरमा लगानी गर्न पनि कर्जा लिने अभ्यास थियो । अहिले साधारण सेयरमा कर्जामार्फत् होइन बचतलाई लगानी गर्ने संख्या नै करिब २६ लाख पुगिसकेको छ । सेयर बजारमा बचतभन्दा पनि ऋण परिचालन बढेको भन्ने सुनिन्छ, ऋणबिनाको सेयर बजार कत्तिको सम्भव छ? सेयर बजारलाई ऋणमुक्त बनाउन सम्भव छ । बैंक–वित्तीय संस्थाबाट गएको ऋणको आकारमध्ये केही अंश अल्पकालीन लगानीमा भए पनि धेरै दीर्घकालीन लगानीमा गएको छ । उद्योगी, व्यापारी तथा व्यावसायीलाई पनि कर्जा लिन परेको खण्डमा धितोको रूपमा सेयर राख्न अन्यको तुलनामा सहज हुन्छ । त्यसले गर्दा पनि बैंक–वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जाको आकार ठुलो देखिएको हो । जग्गा वा अन्य कुनै सम्पत्ति धितो राखेर बैंक–वित्तीय संस्थाबाट कर्जा लिन परेको खण्डमा प्रक्रियागत झन्झटहरू धेरै छन् । त्यसले गर्दा पनि यसको आकार बढ्नमा मद्दत पुगेको हो । अहिले कुल कर्जाको २ प्रतिशत मात्र सेयर धितो कर्जा गएको छ । त्यो कर्जामध्ये आधाभन्दा बढी दीर्घकालीन लगानीमा छ । नेपाल राष्ट्र बैंकले त्यसमा सुक्ष्म अध्ययन गर्दा हुन्छ । बाँकी रहेको करिब एक प्रतिशतको कर्जा मात्र पुँजी बजारमा आएको छ । त्योमध्ये पनि दीर्घकालीन लगानी गर्नका लागि सेयर धितोमा कर्जा दिने भनेर राष्ट्र बैंकले भनिरहेको अवस्था छ । कुल कर्जाको १ प्रतिशतको लगानी सेयर बजारमा जाँदा कोकोहोलो गरिरहेका छौँ । यो आवश्यक हो जस्तो लाग्दैन । हिजो ऋण दिएन भने प्राथमिक बजार पनि चल्दैन भन्ने थियो । अहिले कुल कर्जाको एक प्रतिशत धितोपत्र बाजारमा परिचालन हुँदा बैंकले कर्जा दिएनन् भनेर आतिनु पर्छ जस्तो लाग्दैन । सेयर धितोको कर्जा राज्यलाई नै टाउको दुखाइको विषय बनेको छ भने लगानीकर्ताले किन त्यसलाई फलो गरिरहने ? धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको कुनै निश्चित वेटेज भएको अवस्थामा चिन्तित हुनु पर्ने विषय हो । त्यो पनि छैन । यसबाट हामी मुक्त हुनुपर्दछ । त्यो डर हामीले एकबाट अर्को लगानीकर्तामा ट्रान्सफर गरेका छौ । कुनै पनि बुलको सुरुवात हुने बियरको अन्तिम विन्दुमा रहेका लगानीकर्ताले नयाँ आउने लगानीकर्तालाई त्यही सिकाएका कारण यस्तो भएको हो । आजका लगानीकर्ताले वित्तीय क्षेत्रको तरलता, सेयर कर्जा तथा कम्पनीको धेरै पीइ रेसियो नहेरी नगद लगानी गरिहेको अवस्था छ । कर्जा तथा वित्तीय क्षेत्रको तरलता वा ब्याजदरमा आउने उतार–चढावमा लगानीकर्ता डराउनु पर्ने अवस्थाबाट मुक्त गराउने मेरो अभिप्राय हो । त्यो मात्र बजारलाई चलाउने पक्ष होइन । त्यसले बजारमा केही प्रभाव पार्न सक्छ । तर, सबै त्यही होइन । त्यसैले बैंक–वित्तीय संस्थाको कुल कर्जाको एक प्रतिशत कर्जा बजारमा लगानी भएकाले बजेट, मौद्रिक नीति, वित्तीय क्षेत्रको तरलता, ब्याजदरजस्ता कुरामा डराउनु परेको छ । अब त्यो एक प्रतिशत कर्जाबाट पनि मुक्त हुन सक्यो भने यी कुराहरूले बारम्बार बजारलाई चलाउने र लगानीकर्ताको मनोबल कमजोर बनाउने अवस्था आउँदैन । आफ्नो बचत स्वयम्ले परिचालन गर्दा यस्तो खालको समस्या नै आउँदैन । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको पछिल्लो ४–१२ को सीमाले लगानीकर्तालाई तर्साएकै हो त ? राष्ट्र बैंकको ४–१२ को व्यवस्थाकै कारण लगानीकर्ता विचलित हुनु पर्ने कारण बिलकुलै छैन । यसमा केही लगानीकर्ताले अलि धेरै नै हल्ला गरेको देखियो । आखिर १ प्रतिशत सेयर धितो कर्जा बजारमा परिचालन भएको हुनाले यो धेरै अप्ठ्यारो विषय होइन । पुँजी बजारसँग सम्बन्धित सानोभन्दा सानो नीतिगत सूचनाले पनि समग्र बजारलाई तरङ्गित बनाउँछ । राष्ट्र बैंकको यो व्यवस्था भनेको सेयर बजारका लागि पानीको तलाउमा सानो ढुङ्गा हान्दा तलाउ नै हल्लिएको जस्तै भयो । अहिले आएर त्यसको प्रभाव धेरै कम भइसकेको छ । यसले तात्विक असर पर्न हुँदैन र पार्दैन पनि । त्यो व्यवस्थाले नै असर गर्छ भनेर भनिराख्ने हो भने नगदमा कारोबार गर्ने ८० देखि ९० प्रतिशत लगानीकर्ताप्रति अनुत्तरदायी भएको ठहरिन्छ । उनीहरूको भावना माथि हामी खेलवाड गरेको ठहरिने मेरो बुझाइ हो । धितोपत्र बोर्डका उच्च अधिकारी बुक बिल्डिङ विधिमार्फत मूल्य निर्धारण गरेर सर्वसाधारण सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा संलग्न भएको कुराले पनि स्वस्थ्य पुँजी बजारको विकास तथा लगानीकर्ताको विश्वासमा चोट पुग्यो होला नि होइन ?  यो धेरै दुःखको कुरा हो । संसारमा कमी–कमजोरीरहित व्यक्ति वा संस्था सम्भव छैन । तथापि, धितोपत्र बोर्ड अथवा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा देखिएका विकृतिका कारण लगानीकर्ताको विश्वासमा ठेस पुगेकै हो । पुँजी बजारको दीर्घकालीन विकास र विस्तारका लागि गरिने कार्यहरू पनि यो घटनाले छायामा पर्‍यो । बुक बिल्डिङ विधिमार्फत् धितोपत्रको मूल्य निर्धारण पुँजी बजारका लागि अति नै आवश्यक विषय हो । राम्रा कम्पनी बुक बिल्डिङमा जान आवश्यक छ र जानै पर्छ । पुँजी बजारलाई व्यापक तथा लगानीकर्तामैत्री बनाउन सबै हिसाबले बुक बिल्डिङ विधि आवश्यक छ । बुक बिल्डिङका लागि संस्थागत लगानीकर्ताको उपस्थिति पनि मजबुत भइसकेको अवस्था छ । नयाँ सेक्टरका भ्यालु क्रिएट गरेका कम्पनी यो विधिमार्फत् दोस्रो बजारमा आउँदै थिए । तर, धितोपत्र बोर्ड र नेप्सेका उच्च अधिकारीहरूको कदमका कारण बुक बिल्डिङ छायामा परेको अवस्था छ । मिडिया क्षेत्रले पनि बुक बिल्डिङको मर्मलाई भन्दा पनि व्यक्ति हेरेर विषय उठान गरेको देखिन्छ । यसले गर्दा पनि बुक बिल्डिङलाई छायामा परेको हो । व्यक्तिका क्रियाकलापलाई माथि ल्याएर बुक बिल्डिङ छायामा पारेर पुँजी बजारका नयाँ अभ्यासको सुरुवातलाई नै प्रभावित पर्ने काम भएको छ । नियामक निकायका पदाधिकारी नै संलग्नमा भएका पछिल्ला गतिविधिले धितोपत्र बजारलाई एकल उत्पादनबााट बहु–उत्पादनमा लैजाने कदममा असर पुर्‍याएको छ । यो दुःखद् कुरा हो । पछिल्लो समयमा धितोपत्र बजारमा ठुला लगानीकर्ता र साना लगानीकर्ता बीचको अन्तर कम हुँदै गएको हो ? केही वर्ष अघिसम्म पनि साधारण सेयर निष्कासनमा ५० देखि ६० हजार आवेदकले आवेदन दिँदा पनि निकै उत्साहित हुनुपर्ने अवस्था थियो । आज प्रविधिमा आधारित सेयर बजार भएको अवस्था छ । प्रविधिको प्रयोगले निक्षेप खाता तथा बैंक खातालाई एउटै नेटवर्कमा राख्न सम्भव भएको छ । त्यति हुँदा पनि साधारण निष्कासनमा २६ लाख आवेदकले आवेदन बुझाउने गरेका छन् । विगतमा अन्यको नागरिकताबाट पनि साधारण सेयरमा आवेदन दिने अभ्यास थियो । त्यति हुँदा पनि ४ देखि ५ लाख मात्र आवेदन हुन्थे । तर, अहिले अन्यको नामबाट सेयर आवेदन दिन सहज छैन । अहिलेको मोटामोटी रूपमा सही लगानीकर्ता नै २६ लाख पुगिसकेको छ । दोस्रो बजारमा पनि सक्रिय रूपमा कारोबार गर्न संख्या पनि उच्च छ । अहिले धितोपत्र बजारको दैनिक कारोबार नै ३ लाखभन्दा माथि पुगेको अवस्था छ । पुँजी बजारको दायरा व्यापक रूपमा विस्तार भएको छ । हिजो साधारण सेयरको आवेदनका लागि लाइनमा बस्दा प्रहरीबाट लाठी चार्ज गर्नु परेको अवस्था पनि थियो । अहिले टेक्नोलोजीको माध्यमबाट साधारण सेयरमा आवेदन दिन सकिन्छ । कुनै समय दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ५० हजार थियो । यीमध्ये केही लगानीकर्ताकोे ब्रेन वास गर्‍यो भने मार्केटमा जसो भन्यो त्यसै हुन्थ्यो । अहिले त्यो अवस्था छैन । धितोपत्र बजारमा लगानी गर्न आउने लगानीकर्ता बजारको जानकारी लिएर आउने गरेको देखिन्छ । त्यति मात्र नभइ लगानीकर्ता आफैले खरिद बिक्री गर्न सक्ने भएकाले धेरै समझदारीयुक्त लगानीकर्ता बजारमा आएको अवस्था छ । त्यसैले अहिले बजारको डाइमेन्सन परिवर्तन भएको छ । हामीले हिजोको सिद्धान्त बोकेर लिक्विडिटी, ब्याजदर, मनिटरी पोलिसी, बजेटलाई आधार बनाएर लगानी गर्दै आएका थियौ । यी अभ्यासहरू अब पुराना भए । अब लगानीकर्ताले धितोपत्र बजार हिजो कसरी चलेको थियो भनेर सोच्नुभन्दा पनि फरक पाटोबाट सोच्नुपर्दछ । अबको बजारमा साना र ठुला लगानीकर्ता भन्ने नै हुँदैन । त्यतिमात्र नभइ कुनै एक व्यक्ति वा निश्चित समूहले सेयर बजारलाई नियन्त्रण गर्ने भन्ने कल्पना भन्दा बाहिरको कुरा हो । आगामी केही समयमा धितोपत्र बजारमा नयाँ सोच र सिद्धान्त अभ्यासमा आउँछ । प्राथमिक बजारमा लाभ भएपछि त्यो लगानीकर्ता दोस्रो बजारमा आउने हो । त्यसले गर्दा बजारको क्षेत्र ठुलो भएको छ । अझै पछिल्लो दिनहरूमा प्रविधिक विश्लेषणलाई ध्यानमा राखेर लगानी गर्ने संख्या बढेदै गएको छ । म आफै पनि लगानीकर्ता भएको नाताले प्राविधिक विश्लेषणमा धेरै विश्वास गर्दैनथेँ । तर, पछिल्लो समयमा मैले पनि प्राविधिक विश्लेषणलाई पनि विशेष चासोका साथ हेर्ने गरेको छु । अरूको नागकिताबाट साधारण सेयर भरेका लगानीकर्ताले अझै पनि समस्या छन् भन्ने सुनिन्छ, सेयरधनीको पहिचान नभइ सेयर निष्क्रिय रहनुभन्दा त बजारमा आएको नै राम्रो होइन र ?  हामी जहिले पनि अन्तिम दिन पर्खिएर बस्छौं । सेयर बजारमा डिजिटाइजेसन आउँदैन भन्ने धेरैलाई थियो । यहीबीचमा ‘कट अफ डे’ राखिदियो । त्यो ‘कट अफ डे’मा नेपालमा कार्यान्वयनमा भएको कारणले पनि केही लगानीकर्ताको सेयर अडियल हुन सक्छ । हिजो सिस्टमको लुपहोल थियो अथवा नियम संगत नै काम गरेका थिए होला । यसलाई तपसिलमा राखेर हिजो सिस्टममा भएको कुरा आज गैर–कानुनी होला । त्यसैले अन्यको नागरिकताबाट साधारण सेयरमा लगानी गर्नेलाई पनि अन्तिम मौका दिनुपर्ने देखिन्छ । यो विषयलाई लगानीकर्ताले पहिलादेखि उठाउँदै आएको विषय पनि हो । अब अहिले आएर यो कुरा भनिरहँदा गैर कानुनी कुरा गर्‍यो भन्ने पनि हुन सक्छ । सिद्धान्ततः हेर्ने हो भने त्यो ब्याक ग्राउन्ड कानुनी नै थियो । त्यतातिर फेरि फर्कन सम्भव नदेखिएला तथापि यहाँनेर समस्या छ । सरकारले स्वयम् करको घोषणा गर्ने योजना ल्याएजस्तै गरी यो विषयलाई पनि थोरै अवधिका लागि कार्यविधि बनाइ मौका दिनुपर्ने देखिन्छ । यसो गर्दा राज्य, सेयर बजार तथा सम्बन्धित लगानीकर्ता सबैलाई फाइदा हुन्छ । त्यस्तो कारोबारमा पारदर्शी कार्यविधि बनाइ एकपटक मौका दिनुपर्ने देखिन्छ । किन भन्दा ती सेयरहरू १०० रुपैयाँको भ्यालूमा छन् । आज त्यसको मूल्य बढेको छ । त्यति मात्र नभइ दोस्रो बजारमा कारोबारका लागि पनि ती सेयर आउँछन् । त्यसतर्फ नियामक निकायले सोच्दा राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ । सप्लाई धेरै नहोला तथापि त्यसले सकारात्मक सन्देश भने पक्कै दिन्छ । नेपालको सेयर बजार इक्यूटी केन्द्रित छ । यसमा विद्यार्थीदेखि ठूला व्यावसायिक घराना पनि सक्रिय छन् । सबै खालका लगानीकर्ताको हित हुनका लागि कस्तो के कस्ता व्यवस्थाको आवश्यकता देख्नुहुन्छ ?  पुँजी बजारको विस्तार र विकासका लागि धेरै चुनौती छन् । त्यसमा प्रविधि तथा कानुनी सुधारका विषयहरू पनि पर्छन् । पुँजी बजारलाई क्रियाशील एवं भरपर्दो बनाउने धितोपत्र सम्बन्धी ऐन–२०६३ लाई प्रतिस्थापन गरी नेपाल धितोपत्र बोर्ड ऐन र धितोपत्र कारोबार ऐन निर्माण गर्न विज्ञ र सरोकारवाला सम्मिलित अध्ययन समिति गठन गरी सो समितिको प्रतिवेदनको आधारमा नयाँ ऐन निर्माण गर्नुपर्ने आवश्यक छ । नियामकको भूमिका निर्वाह गर्ने संस्थाहरूलाई थप जिम्मेवार बनाइ हितग्राहीको हितको सुनिश्चितता गर्न छुट्टै ट्रष्टी ऐन जारी गर्नु पर्ने देखिन्छ । नेप्सेमा सरकारी स्वामत्वि कम गरी वैदेशिक रणनीतिक साझेदार ल्याइ नेप्सेको सेवालाई चुस्त बनाउनु पर्ने देखिन्छ । साथै धितोपत्र बजारमा इन्ट्रा–डे ट्रेडिङ सुरु गर्नुपर्ने आवश्यक छ । धितोपत्र कारोबारको पूर्ण रूपमा राफसाफ गर्न र इन्ट्रा–डे कारोबारको लागि आवश्यक हुने हुँदा यथाशीघ्र अक्सन मार्केट सञ्चालनमा ल्याउनु आवश्यक छ । दोस्रो बजारलाई थप तरल बनाउन टिक साइज, अर्डर प्राइस अर्डर प्लेसमेन्ट लगायतका कुरालाई सुधार गर्नुपर्ने देखिन्छ । सरकारी ऋणपत्रको सीडीएसीमार्फत् अभौतिकीकरण गरी दोस्रो बजारमा ऋणपत्रको कारोबार विस्तार गर्नुपर्ने देखिन्छ । नेप्सेमा कारोबार हुने वित्तीय औजारमा पनि विविधीकरण गर्नुपर्ने देखिन्छ । मार्जिन ट्रेडिङसम्बन्धी नीतिमा जोखिममा आधारित मार्जिनहरूको व्यवस्था गर्ने र दीर्घकालीन स्रोतको पहिचान गरी मार्जिन ट्रेडिङलाई चलायमान बनाउन अपरिहार्य छ । त्यसका साथै पोर्टफोलियो व्यवस्थापकलाई कन्सोलिडेटेड अकाउन्टमा पोर्टफोलियो लिन पाउने व्यवस्था गर्नुपर्छ । लगानी गर्ने व्यक्ति तथा संस्थाको सम्पत्तिको सुरक्षाको लागि छुट्टै अकाउन्टको व्यवस्था गर्नुपर्ने देखिन्छ । धितोपत्र बजारमा छोटो अवधिको लागि सेयर खरिद बिक्री गर्ने व्यक्ति तथा संस्थाहरूको लागि ब्रोकर पुल अकाउन्टमार्फत् किनबेच गर्न पाउने व्यवस्था गर्नु आवश्यक छ । धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र थप गरी व्यवसायीहरूको वर्गीकरण गर्ने व्यवस्था गर्नु पर्छ । धितोपत्र व्यवसायीहरूले सब ब्रोकर, आधिकारिक प्रतिनिधि नियुक्त गर्न पाउने व्यवस्था गरी दोस्रो बजार चाँडोभन्दा चाँडो देशका हरेक कुनासम्म विस्तार गरिनु पर्छ । यसरी नै धितोपत्र बजार सबैका लागि बनाउनका लागि भित्री सूचनाका आधारमा हुने कारोबार निरुत्साहित गर्न भित्री कारोबार बन्देज नियमावली बनाइ कार्यान्वयनमा ल्याउनु जरुरी छ । धितोपत्र बजार विश्लेषकसम्बन्धी छुट्टै नियमावली तयार गर्ने तथा सूची बनाउन आवश्यक छ । उपत्यका बाहिरका लगानीकर्ताहरूले सहज रूपमा अक्सनमा भाग लिन र पुँजीगत लाभकर चुक्ता प्रमाणपत्र लिन पाउने संरचना तयार गरिनु पर्छ । उत्पादन, व्यापार तथा सेवा क्षेत्रका कम्पनीहरूलाई दोस्रो बजारमा सुचीकृत गराउन त्यस्ता कम्पनीहरूमाझ एक सर्वेक्षण गर्ने र सो आधारमा सम्बन्धित निकायहरूमा आवश्यक सुझाव उपलब्ध गराउनु पर्छ । विदेशी संस्थागत लगानीकर्ता भित्र्याउन आवश्यक पहल तथा एनआरएनहरूले सोझै दोस्रो बजारमा लगानी गर्न पाउने व्यवस्था गर्नुपर्छ । इन्भेस्टमेन्ट कम्पनीहरूलाई पुँजी बजारमा सूचीकृत हुन आकर्षित वातावरण बनाउनु पर्ने तथा लगानीकर्ता सुरक्षण कोषलाई धितोपत्र बोर्डमार्फत परिचालन गर्नु आवश्यक छ । (टक्सार म्यागजिन, मंसिर २०७८ मा प्रकाशित)



प्रतिक्रिया दिनुहोस !