२९ मंसिर २०८२, सोमबार

अध्यक्ष ओली नेतृत्वको टिम अपवाहबाट बिचलित हुँदैन-महासंघ उपाध्यक्ष गाैतम

प्रकाशित मिति :  15 December, 2025 8:42 pm


काठमाडाैँ । नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तिरन गौतमले नेकपा (एमाले) भित्र नेतृत्व विभाजन गर्ने खेल सुरु भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

नेपाली राजनीति जटिल र संवेदनशील मोडबाट गुज्रिरहेको समयमा भइरहेको ११ औँ महाधिवेशनलाई पार्टी जीवनकै सबैभन्दा महत्वपूर्ण घडीको रूपमा वर्णन गर्दै नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका गाैतमले सबैखाले षड्यन्त्रकाे बिरुद्धमा लाग्न आग्रह गरे ।

गौतमका अनुसार एघारौँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको वैचारिक दिशा, संगठनात्मक एकता र भविष्यको राजनीतिक यात्रासँग प्रत्यक्ष जोडिएको छ। यस्तो अवस्थामा पार्टीलाई कमजोर बनाउने उद्देश्यले देशी–विदेशी षड्यन्त्र भइरहेको उनको दाबी छ ।

उनले भने, “नेपाली राजनीति गम्भीर मोडमा पुगेको छ। यही बेला एमाले नेतृत्वलाई विभाजन गर्ने खेल सुरु गरिएको छ । ११ औँ महाधिवेशन एमालेको जीवनसँग जोडिएको महत्त्वपूर्ण महाधिवेशन हो । यस्तो सङ्घीन घडीमा केपी शर्मा ओली नेतृत्वको प्यानललाई जिताउनु आजको आवश्यकता हो ।”

गौतमले पार्टीलाई कमजोर पार्न देशी तथा विदेशी शक्तिहरू सक्रिय भएको आरोप लगाउँदै यस्तो अवस्थामा सशक्त नेतृत्व अपरिहार्य रहेको बताए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व क्षमता र महासचिव शंकर पोखरेलको वैचारिक स्पष्टता बिना पार्टी सुरक्षित रहन नसक्ने धारणा व्यक्त गरे ।

“एमालेलाई कमजोर बनाउन देशी–विदेशी शक्तिहरू लागिपरेका छन् । यस्तो अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र महासचिव शंकर पोखरेलको विचार आज अपरिहार्य बनेको छ,” उनले भने ।

उनले महाधिवेशनमा युवा शक्ति निर्णायक भूमिकामा रहेको उल्लेख गर्दै पार्टीको एकता, स्थायित्व र राष्ट्रिय हितका लागि युवाहरू एकजुट भएर ओली नेतृत्वको प्यानललाई विजयी बनाउनुपर्नेमा जोड दिए ।

“पार्टीलाई फुटतर्फ होइन, बलियो एकताको बाटोमा लैजान युवाहरू सचेत भएर लाग्नुपर्छ। यो महाधिवेशन व्यक्तिको होइन, विचार र भविष्यको फैसला गर्ने अवसर हो,” गौतमले थपे ।

उनले कार्यकर्तालाई अफवाह, विभाजनकारी गतिविधि र स्वार्थ केन्द्रित राजनीतिबाट टाढा रहँदै पार्टीको मूल मर्म र सिद्धान्तका पक्षमा उभिन आग्रहसमेत गरे ।



प्रतिक्रिया दिनुहोस !