२९ मंसिर २०८२, सोमबार

झापामा सिलिण्डर पड्किएर एक जनाको मृत्यु, १२ घाइते

प्रकाशित मिति :  6 January, 2022 9:01 am


सांकेतिक फाेटाे

झापा । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नपा बस्ने ४५ वर्षीय शारदा राजवंशी रहेकी छन् । गम्भीर घाइते भएकी उनलाई उपचारको लागी धुलाबारी मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिलिण्डर पड्किँदा आगो निभाउन गएका सोही स्थानका ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड–९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर–७ का ३२ वर्षीय दीपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशङ्कर न्यौपाने, ३६ वर्षीया निर्मल शर्मा, मेचीनगर–८ का ३४ वर्षीय हरि र आठ वर्षीया सुशीला अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

केशवको टिनको छानो, चित्राको बेरा भएको एक तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएको र घरमा कोही नभएको अवस्थामा राति ९ः२० बजे आगो लागेको जनाइएको छ । आगलागी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राति १०ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !