२३ बैशाख २०८१, आइतबार

सरसफाइ अभियानमा योगदान पुर्याउने १२ सरसफाइ अभियान्ता सम्मानित

प्रकाशित मिति :  7 January, 2022 6:38 pm


काठमाडौं । नेपालको सरसफाइ अभियानमा उल्लेख्य योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कुन्ति स्मृति प्रतिष्ठान र शैक्षिक स्रोत तथा विकास केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा सफाइ अभियान्तालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खादा ओढाएर प्रसंसा पत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा पूर्वसचिव अवोधकिशोर मिश्र, मुक्ति पोखरेल, मदन मल्ल, बोधनारायण श्रेष्ठ, हरिदत्त पौडेल, शिवराज न्यौपाने, झङ्क कुँवर, होमनाथ आचार्य, सुनिता सुल्पे, शान्ति उपाध्याय, स्वस्तिका श्रेष्ठ, कमला सापकोटा र उद्धव तिमिल्सिना रहेका छन्।

कार्यक्रममा नेपालको सफाइ अभियान्ता नमस्तेलाल भूमिद्वारा लिखित ‘सकारात्मक सोच, खोज र रोज’ पुस्तक तथा ‘मार्गदर्शक विचार’ निर्देशिका विमोचन गरिएको थियो । पाँच खण्डमा विभाजित उक्त पुस्तकमा दैनिक जीवनमा प्रयोग हुने अनमोल शब्द, सकारात्मक सोच, खोज र रोज, तनावमुक्त जीवन जीउने उपाय, इतिहासका २० प्रेरणादायी सकारत्मक घटना, कथासार र मार्गदर्शन तथा सत्य, सकारात्मक तथा चाखलाग्दा २० कथा व्यथा समेटिएको लेखक नमस्ते लालले जानकारी दिए।

कार्यक्रममा श्रममन्त्री श्रेष्ठले आफूँ पदमा रहुञ्जेल सकारात्मक सोचका साथ जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै श्रम रोजगार क्षेत्र सुधारमा केन्द्रित भएको बताए । अदक्ष श्रमिक वैदेशिक रोजगारीमा जाँदा स्वयम् व्यक्ति तथा मुलुकले ठूलो नोक्सानी व्यहोरिरहेको बताउँदै मन्त्री श्रेष्ठले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउन सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरिएको बताए ।

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले तीन दशकभन्दा बढी समयदेखि सरसफाइको क्षेत्रमा अनवरतरुपमा सेवा गरेकामा सरकारका तर्फबाट आभार प्रकट गरिन् । सरसफाइलाई सकारात्मक सोचका साथ लाग्ने नमस्तेलालको ऊर्जा प्रेरणादायी रहेको उनले बताइन्।

लेखक खगेन्द्र संग्रौलाले सरसफाइ आर्थिक तथा सामाजिक जीवनसँग जोडिएको उल्लेख गर्दै शैक्षिक र सांस्कृतिक चेतनाको विकास गर्न नमस्तेलालले गरेको सहयोग प्रशंसायोग्य रहेको बताए । यस्ता सामाजिक अभियान सँगै मानिसको जीवनस्तर उकास्न र मानिसहलाई शैक्षिक चेतनाको लागि पहल गर्दा अझ बढि प्रभावकारी हुने लेखक संग्रौलाको भनाइ छ ।

लेखक नमस्तेलालले सकारत्मक सोच, विचारले नै विश्वलाई सकारत्मक दिशामा उन्मुख गराउने उल्लेख गरे। कार्यक्रममा सकारात्मक सोचका साथ जनपक्षीय काम गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले श्रममन्त्री श्रेष्ठलाई अभिनन्दन गरिएको थियो ।

तनहुँको बन्दिपुरमा जन्मेर लामो समय विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय सङ्घसंस्थामा कार्यरत रहँदै नेपालको सफाइ अभियानमा सङ्लग्न भएको नमस्तेलाल नेपालको सरसफाइको क्षेत्रमा चिरपरिचित नाम हो ।

नमस्तेलाको सक्रियतामा सन् २००० देखि नेपालमा राष्ट्रिय सरसफाइ सप्ताह तथा विद्यालय सरसफाइ कार्यक्रम र सन् २००६ मा विद्यालयको अगुवाइमा पूर्णसरसफाइ कार्यक्रमको प्रवर्तक बनी चार हजार ५०० बढी विद्यालयमा सेवा क्षेत्रभित्र खुला दिसामुक्त घोषणा गराउन प्रभावकारी भुमिका खेलेको छन् । उनकै अगुवाइमा सन् १९९८ मा तत्कालीन ७५ जिल्लाका सभापति र नगर प्रमुखको सहभागितामा सरसफाइ सम्मेलन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !