१ पुस २०८२, मंगलबार

माघ १५ सम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

प्रकाशित मिति :  9 January, 2022 8:15 pm


काठमाडौं । कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ ।

कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भीडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् ।

केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !