करार स्वास्थ्यकर्मीको म्याद थप गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय
कोरोना रोकथामका लागि जिल्लागत समिति गठन
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आईसोलेसन अस्पतालहरूको सेवा निरन्तरता गर्दै अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तिलकराम शर्माले चैत्र मसान्तसम्म अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद थप गर्ने निर्णय भएको जानकारी दिए ।
कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा आवश्यक पर्ने रकम स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले माग गरेको आधारमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको छ । कोरोना महामारीको रोकथाम,नियन्त्रण,उपचार र व्यवस्थापनका सम्बन्धमा जिल्लागत समिति गठन समेत गरेको छ ।
पर्यटन,ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङ्ग, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्यूठान , भौतिक पूर्वाधार विकास मन्त्री शहसराम यादवले कपिलवस्तु , उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गर्ने छन् ।
त्यस्तै वन,वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँके ,उद्योग, वाणिज्यतथा आपूर्ति मन्त्री अजय शाहीले नवलपरासी , कानून,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तिले अर्घाखाची, शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्री बसीउद्दीन खाँले रुपन्देहीका जिल्ला अस्पतालहरूको अनुगमन गर्ने छन् ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री समुन शर्मा रायमाझीले बर्दिया, श्रम रोजगार तथा यातायत व्यवस्था मन्त्री पूर्मति ढेंगाले पाल्पा, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमलाकुमारी खत्रीले रुकुम पूर्व , आर्थिक मामिला तथा सहकारी राज्यमन्त्री सुस्मा यादबले कपिलवस्तु र पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल विकले रोल्पा जिल्लाका अस्पतालहरुमा अनुगमन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिए ।






