भारतको सीमाक्षेत्रमा घर फर्कनेको लर्को
महोत्तरी । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।
दशगजा ९नेपाल–भारत सीमा० दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।
जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।
सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउछन् ।
मटिहानी, भिठ्ठामोर र सम्सीनाका दुवैतर्फ बस यातायात सञ्चालन रहेका ठाउँ भए पनि नेपालतर्फ प्रवेश गर्नेलाई व्यवस्थित जाँचको प्रबन्ध नहुँदा जिल्लाका गाउँ–नगर बस्तीमा कोरोना सङ्क्रमण सन्त्रास बढेको छ ।
भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने अहिले सन्त्रास बढेको हो ।
नेपाल प्रवेश गर्नेलाई लक्ष्य गरी भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउनुहुन्छ ।
“खुला सीमा भएको हुँदा जताततैबाट दोहोरो आवतजावत हुने रहेछ, यसलाई व्यवस्थित गर्न स्थानीय समुदाय र स्थानीय तहले अग्रसरता लिनुपर्छ”, प्रजिअ दाहाल भन्छन्, “हामीले सीमा क्षेत्रका सबै स्थानीय तहलाई यसका लागि आग्रह गरेका छौँं ।” भिठ्ठामोरचाहिँ टाढाबाट आउने सार्वजनिक साधनको मुख्य गन्तव्य भएको हुँदा यसलाई व्यवस्थित गरिएको प्रजिअ दाहालको भनाइ छ ।
नेपाल–भारत सीमा क्षेत्रका दुवैतिर साप्ताहिक हटिया ९बजार० लाग्ने र यस्ता हटियामा दुवैतर्फ दैनिक घरायसी प्रयोजनका वस्तु किन्न दोहोरो आवतजावत हुने पुरानो कुरा हो । जिल्लामा मात्रै सीमासँग जोडिएका छवटा स्थानीय तहका ६० को हाराहारीका बस्ती छन् ।
भारततर्फ पनि त्यत्तिकै सङ्ख्याका बस्ती भएपछि खुला सीमामा सबै ठाउँ दोहोरो आवागमनको अनुगमन हुन व्यावहारिकरूपमै अप्ठ्यारो रहेको छ । यद्यपि सघन आवतजावतका मटिहानी, भिठ्ठामोर वरिपरि र सम्सीका सीमासँग जोडिएका बाटामा सुरक्षा र स्वास्थ्य जनशक्ति विन्यास गर्नैपर्ने आवश्यकता देखिँदो छ ।
यी ठाउँमा स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।रासस






