रोल्पाको होलेरी बजार अतिक्रमणको चपेटामा
उमा केसी ।
रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ । होलेरी वजार क्षेत्रमा रहेका विद्यालय र मन्दिरको नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गा समेत अतिक्रमण गरि घर टहरा बनेका छन् ।
वजार क्षेत्रको ऐलानी जग्गा समेत अतिक्रमण भएका छन् ।
होलेरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा ठूलठूला भवन र टहरा वनेको स्थानीयवासी नन्दराम खड्काले जानकारी दिए । “मन्दिरको जग्गामा ग्यारेज तथा सामुदायिक वन र ऐलानी जग्गाहरुमा घर टहरा वनेका छन्,” खड्काले भने ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका स्थानीय स्तरका उच्च राजनैतिक हैसियत भएका नेताहरू नै ऐलानी जग्गामा घर टहरा वनाएको खड्को भनाई छ ।
अतिक्रमण हटाउन स्थानीय सरकारले पहल गरे पनि सार्थक हुन नसकेको स्थानीयहरूको भनाई छ । “बजार क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढ्ने सहमति भएपनि हाल सम्म कार्यान्वयन भएको छैन,” स्थानीयवासी खड्काले भने । स्थानीय सरकारले बिभिन्न कार्यक्रममा लाखौ रुपैयाँ बजेट खर्च गरेतापनि केहि गर्न नसकेको उनको गुनासो थियो ।
“सर्वपक्षीय वैठकको आयोजना गरेर समस्या हल गर्ने प्रयास गरेका छाैँ,” रुन्टीगढीगाउँपालिका अध्यक्ष बालाराम बुढाले भने । सो ठाउँमा ३,४ थरिका जग्गा भएको पाईएकाले नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गा छुट्याउने काम भइरहेको अध्यक्ष बुढाको भनाई छ ।
वन क्षेत्र, मन्दिर,सडक,सार्वजनिक जग्गा सबैभएको हुँदा भूमि व्यवस्थापन आयोगको प्रकृयावाटै टुंग्याईने अध्यक्ष बुढाले बताए । “१५ दिन भित्र अतिक्रमित जग्गा छोड्न भनिएको छ नछोडे कानुनी प्रकृया अगाडी बढ्छ,” बुढाले भने ।
होलेरी स्वर्गद्धारीको प्रवेशद्धारका साथै स्वर्गद्धारी महाप्रभुको जन्मस्थान रुन्टीदेखी नजिकको दुरीमा रहेकाले दैनिक हजारौ तीर्थयात्री आवतजावत गर्दछन् ।
दक्षिण रोल्पाको महत्वपूर्ण व्यापािरक नाका समेत रहेको होलेरी दश वर्षे सशस्त्र युद्ध घोषणा गर्दा तत्कालिन विद्रोही नेकपा माओवादीले पहिलोपटक प्रहरीमाथि आक्रमण गरेको ठाउँ हो ।
धार्मिक पर्यटन,युद्ध पर्यटन र पर्यापर्यटनको रुपमा विकास हुदै गरेको होलेरी बजार क्षेत्रको अतिक्रमणले स्थानीयहरू चिन्तित भएका छन् ।








